इन्द्रेणी संवाददाता
दाङ ६ माघ । सरकारले ५ नम्बर प्रदेशको राजधानी रुपन्देहीलाई तोकेपछि दाङमा चर्केको सडक आन्दोलनलाई नेकापा माओवादीका प्रभावशाली नेता तथा दाङ क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराले सम्बोधन गर्दै आफु अन्तिम स्वास रहँदा सम्म दाङको लागि लड्ने बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता महराले दाङ प्रादेशिक राजधानी नहुँदासम्म यो आन्दोलन निरन्तर चल्ने र त्यसको अगुवाइ आफूले गर्ने प्रतिबद्धता व्यक्त गर्दै बन्द हड्तालको कार्यक्रम संशोधन गरेर बिरोधका अन्य स्वरुप अपनाउन आव्हान गरेका छन् । जे नहुने हो त्यहि भएपछी अब प्रदेशसभाबाट दाङ राजधानीका लागि सहमति जुट्ने विश्वास व्यक्त गर्दै अब आफु कूटनीतिक पहलमा लाग्ने महराले बताएका छन्।
राजनीतिक रुपमा पटक- पटक असक्षम भइसकेका देउवाले यसपटक पनि आफ्नो क्षमता छिमेकी मुलुक भन्दा १५ किलोमिटर मात्र टाढा आम जनताहरुलाई अपायक पर्ने स्थानमा प्रदेशको राजधानी तोकेर देखाई सकेको बताएका छन् ।
प्रत्येक दिन आफुले ५ नम्बर प्रदेशको राजधानी दाङ नै हरेक दृष्टिकोणले उपयुक्त छ त्यसैले यो क्षेत्रको राजधानी दाङ नै हुनुपर्छ है भनेर घचघच्याउदा आफुलाई दाङ नै हुन्छ भनेर बिश्वस्त पार्ने र भित्र भित्रै षडयन्त्र अर्कै गरेर देउवाले अराजनीतिक चरित्र देखाएको महराले जनाएका छन् ।
यस्तै सम्बोधनमा नेता महराले दाङको न्यायपूर्ण आन्दोलनमा स्वतस्फुर्त रुपमा उपस्थित भएका समग्र जनतालाई हार्दिक धन्यवाद दिँदै अन्यायपूर्ण निर्णय जब सम्म सच्चिदैन तब सम्म आन्दोलन जारि रहने बताएका छन् ।
