काठमाडौं, ६ माघ । पूर्वपश्चिम राजमार्गको लमही खण्ड आन्दोलनकारीहरुले कब्जा गरेका छन् । १० औं हजारको संख्यामा रहेका आन्दोलनकारीहरुले पाँच नम्बर प्रदेशको राजधानी राजनीतिक शक्तिको आडमा अपायकमा तोकिएको भन्दै कडा आन्दोलन चर्काउँदै आएका छन् ।

mahara in helipad

आन्दोलनकारीहरुले नेताहरुका पुत्लादहनसमेत गरिरहेकै अवस्थामा दाङ– २ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वउपप्रधानमन्त्री कृष्णबहादुर महरा भने राजमार्गकेन्द्रित आन्दोलनलाई सम्बोधन गर्न दाङ पुगेका छन् । हवाईजहाजबाट नेपालगञ्ज लागेका महरा बाक्लो हुस्सुका कारण अवतरण हुन नसकेपछि काठमाडौं फर्केर पुनः हेलिकोप्टरबाट दाङ पुगेका हुन् । माओवादी केन्द्रका वरिष्ठ नेता महराले दाङ नै ५ नम्बर प्रदेशको राजधानीका लागि सबै दृष्टिले उपयुक्त भएको भन्दै सरकारलाई पनि दवाव दिँदै आएका थिए ।

पूर्वउपप्रधानमन्त्री महरा, कांग्रेस नेता दीपक गिरीलगायतले प्रदेशको राजधानी दाङलाई तोक्न दवाव दिएको भएतापनि अन्ततः सरकारले भने रुपन्देहीलाई तोकेको थियो । सरकारको निर्णयलगत्तै महराले आक्रोश व्यक्त गर्दै सरकारको निर्णय पुनः सच्याउन माग गरेका थिए ।