जाजरकोट, ५ माघ । जाजरकोटलाई सरकारले सुन्तलाका लागि आत्मनिर्भर बनाउने पहल सुरु गरेको छ । १० करोड बढीको सुन्तला फल्ने जाजरकोटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत सुन्तला जोनको रूपमा विकास गर्न कार्यक्रम सुरु गरिएको हो । कुसे गाउँपालिका–५ पाँचकटियामा कार्यलय स्थापना गरेर सुन्तला जोनको कामहरू सुरु गरिएको छ ।

orangसरकारले गत वर्षदेखि सुरु गरेको यस परियोजनाअन्तर्गत जाजरकोटका तीन क्षेत्रलाई समेटेर सुन्तला जोन बनाउन लागेको हो । परियोजनाले विभिन्न कृषिजन्य उत्पादनको उर्वर सम्भावना रहेका मुलुकको ४१ जिल्लालाई सुपरजोन तथा जोनको नाम दिएर कार्यक्रम सुरु गर्न लागेको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले विभिन्न उत्पादनका आधारमा जोनका रूपमा विकास गर्ने क्रममा जाजरकोटलाई सुन्तला जोनका रूपमा विकास गर्न लागिएको परियोजनाका वरिष्ठ कृषि विकास अधिकृत टङ्कप्रसाद रिजालले बताए ।

परियोजनाअन्तर्गत जिल्लामा सञ्चालन हुन लागेको सुन्तला जोनका बारेमा जानकारी दिँदै रिजालले एक हजार हेक्टरमा तरकारी तथा फलफूल खेती हुने जिल्लाहरूलाई सुपरजोन र पाँच सय हेक्टरमा खेती हुने जिल्लालाई जोनका रूपमा पहिचान गरी परियोजना सुरु गरिएको बताए ।

रिजालका अनुसार सरकारले गत वर्ष र यस वर्ष गरी तरकारी फलफूल र अन्य खेतीका लागि जोनका रूपमा छनोट गरेका ४१ जिल्लामध्ये जाजरकोट सुन्तला जोनका रूपमा छानिएको हो ।  जिल्लाको कुसे गाउँपालिकाको सबै भाग, भेरी नगरपालिकाको २ र नलगाड नगरपालिकाको ३ को पूरै क्षेत्रलाई समेटेर सुन्तला जोन बनाइएको छ । यसअघि सरकारले झापालाई धान, बारालाई माछा, काभ्रेलाई आलु, कास्कीलाई तरकारी, दाङलाई मकै, जुम्लालाई स्याउ, कैलालीलाई गहुँ र डडेल्धुरालाई आलुका लागि सुपर जोन घोषणा गरेको छ ।