इन्द्रेणी संवाददाता
दाङ, ५ माघ । प्रदेश नम्बर पाँचको अस्थायी राजधानी दाङलाई नतोकेको विरोधमा चार दिनदेखि अनिश्चितकालीन दाङ बन्दसहित जारी आन्दोलनका कारण जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ ।
बन्दका कारण जिल्लामा सबै यातायात बन्द रहेका छन् भने व्यापार व्यवसाय, उद्योग कलकारखाना, शैक्षिक संस्था सबै बन्द छन् । आज शुक्रवार पनि विहानैदेखि दाङका घोराही, तुलसीपुर, लमही लगायतका मुख्य बजारका चोक चोकमा आन्दोलनकारीहरु जम्मा भएर नाराबाजी गर्नुका साथै सरकारले निर्णय सच्याएर दाङलाई प्रदेश पाँचको अस्थायी राजधानी नतोक्दासम्म आन्दोलन जारी राख्ने बताइरहेका छन् । विहानै आन्दोलनकारीले बजार क्षेत्रमा प्रर्दशण पनि गरेका छन् ।
जिल्लाको सबै क्षेत्रमा अनिश्चितकालीन बन्द यथावत राख्दै आजदेखि आन्दोलनलाई पूर्व–पश्चिमराजमार्ग केन्द्रीत गर्ने बताइएको छ । विहीवारदेखि आन्दोलनको नेतृत्व गर्ने एमालेको नेतृत्वमा कांग्रेस र माओवादी केन्द्रलाई दिइएको र अबको आन्दोलनको केन्द्र राजमार्ग हुने दाङ प्रादेशिक राजधानी सरोकार समितिका सदस्यसचिव सविन प्रियासनले जानकारी दिए ।
चार दिनदेखिको आन्दोलनका कारण सर्वसाधारहरु गन्तव्यमा पुग्न पैदल हिड्नुपर्ने वाध्यता छ भने दैनिक उपभोग्य सामग्री किनमेल गर्न पाएका छैनन् ।











