काठमाडौं, २२ बैशाख । बुधबार साँझ अपहरणमा परेका नयाँ शक्ति नेपालका नागार्जुन नगरपालिका ७ का वडा अध्यक्ष उम्मेदवार मदन गिरी २४ घन्टासम्ममा समेत भेटिनु भएको छैन्।

indवडा अध्यक्षका उम्मेद्वार मदन गिरीलाई बैशाख २० गते काठमाडौंको नयाँबजारबाट अज्ञात समूहले अपहरण गरेको थियो। नयाँ शक्तिले अहिलेसम्म उहाँको अवस्था पत्ता लाग्न नसकेको भन्दै उहाँको जीवनरक्षाका लागि सरकारसँग माग गरेको छ।

नयाँ शक्तिको विज्ञप्तिमा भनिएको छ, ‘वैशाख २० गते साँझ ७ स् १२ मा उहाँले आफू अपहरणमा परेको जानकारी पार्टीका साथीहरुलाई दिनुभएपछि उहाँको मोबाइल अहिलेसम्म अफ छ। उहाँ अपहरणमा पर्नुभएको बारे सूचना पाएलगत्तै हाम्रो पार्टीले सुरक्षा निकायलाई जानकारी दिएको थियो तर हालसम्म उहाँको अवस्था र अपहरणकारीका बारेमा केही सूचना प्राप्त हुन सकेको छैन।’

नयाँ शक्ति पार्टीले उम्मेदवार अपहरण हुँदा सुरक्षा निकायले तत्परता नदेखाएको भन्दै सरकारप्रति आपत्ति जनाएको छ।‘एकातिर स्थानीय तह निर्वाचन ऐनमा नै संसद्बाहिरका दलहरुलाई दलीय चुनाव चिन्हबाट वञ्चित गर्ने प्रावधान राखेर नेपालको संविधानमा भएको प्रावधान र लोकतान्त्रिक मूल्य मान्यताविपरितको काम सत्ताधारीहरुले गरेका छन्। अर्कोतिर निर्वाचनमा उम्मेद्वारी दिएका व्यक्तिहरु अपहरणमा पर्ने, कतिपय उम्मेद्वारहरुलाई ज्यान मार्ने धम्की दिने काम पनि सत्ताधारी दलकै कार्यकर्ताहरुबाट भइरहेका सूचनाहरु आइरहेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा हुन लागेको छ भन्ने कुराको कत्ति पनि आभाष हुन सकेको छैन। नयाँ शक्ति पार्टी, नेपाल अपहरणमा पर्नुभएका मदन गिरीको शीघ्र खोजतलास गरी जीवन रक्षा गर्न र निर्वाचनको लागि सुरक्षा व्यवस्था चुस्त बनाउन सरकारसँग जोडदार माग गर्दछ।’

नयाँ शक्तिको विज्ञप्तिमा सत्ताधारी दलहरुबाटै यसअघि पनि गोरखा, सिन्धुली, सिन्धुपाल्चोक लगायतका जिल्लाहरुमा उम्मेद्वारी दर्ता गर्न जाने क्रममा नै अवरोध सिर्जना गर्ने, उम्मेद्वारलाई घेरा हाल्ने, धम्क्याउने, हातपात गर्ने र उम्मेदवारी दर्ता गरिसकेको अवस्थामा पनि विभिन्न लोभ, लालच, प्रलोभन, धम्की दिएर मानसिक दवाव दिने, उम्मेद्वारी फिर्ता गर्न धम्की दिने जस्ता निकृष्ट, लोकतन्त्रविरोधी र निर्वाचनविरोधी काम भएको आरोप लगाएको छ।

‘आवधिक निर्वाचन लोकतन्त्रको अभिन्न अंग हो तर सत्ताकै आडमा भइरहेका यस्ता हिंसात्मक गतिविधि र क्रियाकलापको बलमा हुने निर्वाचनले लोकतन्त्र होइन भिन्न खालको निरंकुशता र फासिवाद नै निम्त्याउँछ’, नयाँ शक्तिको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी स्वतन्त्र निर्वाचनविरोधी यस्ता अराजनीतिक र आपराधिक क्रियाकलापको घोर विरोध र भत्र्सना गर्दछ। साथै हामी निर्वाचन पर्यवेक्षण गरिरहेका पर्यवेक्षक संघ–संस्थाहरु, निर्वाचन आयोग, राष्ट्रिय मानवअधिकार आयोग, मानवअधिकारकर्मीहरु लगायत सरोकारवाला निकायहरुको पनि यी गम्भीर परिघटनातर्फ ध्यानाकर्षण गराउन चाहन्छौं।’ अन्नपूर्ण पोष्टबाट