पोखरा, १ पुस । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजित धाराका सबै माओवादी धाराहरु एउटै केन्द्रमा आउने परिस्थिति बनेको बताएका छन् । माओवादी केन्द्रको ४ नम्वर प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले उक्त कुरा बताएका हुन् ।

dsc3655-848x478प्रशिक्षणमा प्रचण्डले भने, ‘म विभिन्न माओवादी धाराका नेताहरुसँग निरन्तर अन्तरक्रियामा छु । सबै माओवादी धाराका माओवादीलाई एकतावद्ध गरेर मात्र लक्ष्यमा पुग्न सक्छौं । माओवादी एकताको रणनीतिक महत्व छ । हामीले त्यसका लागि गम्भीरतापूर्वक पहल लिन जरुरी छ । मैले आफ्नो ठाउँबाट प्रयास गरिरहेको छु, तपाईहरुले पनि एकताको वातावरण बनाउन आफ्नो ठाउँबाट प्रयास गर्नुहोला ।’

सम्मेलनपश्चात् माओवादी केन्द्र व्यवस्थित रुपमा अघि जाने विश्वास व्यक्त गर्दै उनले भने, अहिले हाम्रो संगठन केही अस्तव्यस्त छ, हामीले अनिर्णयको बन्दी हुनुपर्ने परिस्थिति छिचोलेका छौं । अब सम्मेलनमार्फत् व्यवस्थित पार्टी निर्माणको प्रक्रिया सुरु गरिन्छ । वैचारिक स्पष्टता, योगदान, युवा—प्रौढ र पाकाहरुको सन्तुलन र समावेशितालाई मिलाएर पार्टीलाई व्यवस्थित गरिनेछ ।’

समसामयिक परिस्थितिबारे बोल्दै प्रचण्डले भन्नुभयो, ‘परिवर्तनका मुद्धाहरु उल्टाउन कोशिस गरिँदैछ । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिताजस्ता मुद्धाहरुमाथि आक्रमण गर्न थालिएको छ । यी मुद्धा उल्टिँदा माओवादी आन्दोलनको औचित्य नै समाप्त हुन्छ । प्रतिपक्षीहरुले गरेको आन्दोलन जनतालाई घरपाई मिलाइदिने आन्दोलन होइन, यसको अन्तर्यमा परिवर्तन उल्टाउने नियत छ । यो परिवर्तनविरोधी आन्दोलन हो । हामी संविधान कार्यान्वयन गरेर परिवर्तनका मुद्धा संस्थागत गर्न चाहन्छौं, त्यसका लागि माओवादी एकता हाम्रो आधारभूत शर्त हो ।’

राष्ट्रिय सहमतिले मात्रै संविधान कार्यान्वयन हुनसक्ने बताउँदै प्रचण्डले ‘सरकार संविधान कार्यान्वयनका लागि प्रतिवद्ध रहेको बताए । सरकार राष्ट्रिय सहमतिमै संविधान संशोधन, स्थानीय तहको निर्वाचनजस्ता महत्वपूर्ण मुद्धा टुंगाउन प्रयत्नशील रहेको उनको भनाइ छ।

प्रशिक्षण कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र रामबहादुर थापा ‘बादल’ले परिवर्तनका मुद्धा संस्थागत गर्न र माओवादी आन्दोलन पूनर्संगठित गर्न जनतामा जानुको बिकल्प नभएको भन्दै स्थानीय तहको निर्वाचनमा विजय हासिल गर्ने गरी क्रियाशील हुन कार्यकर्तालाई अपिल गरे ।