काभ्रे (कुन्तावेशी)– उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले लोडसेडिङ हटाउने अभियानमा असहयोग गर्ने प्राधिकरण सञ्चालकहरुमाथि कारवाही शुरु भएको बताएका छन् ।
काभ्रेको कुन्तावेशीमा रसकमल स्मृति कृषि सहकारी संस्थाको छैटौं साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन्। लोडसेडिङ हटाउने उर्जा मन्त्रालयको अभियानमा अवरोध खडा गर्ने जोकोहीलाई पनि नछाड्ने चेतावनी दिँदै उनले यसमा साथ दिन सबैलाई आग्रह गरे।

उर्जा मन्त्रालयले विद्युत प्राधिकरण सञ्चालक समिति सदस्य लक्ष्मणप्रसाद अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई अवैधानिक गतिविधिमा संलग्न भएको आरोपमा शुक्रबार लिखित स्पष्टीकरण सोधेको उनले बताए। स्पष्टीकरण चित्तबुझ्दो नभए उनीहरुमाथि थप कारवाही गर्ने मन्त्रालयको तयारी रहेको जानकारी दिए।
उर्जामन्त्री शर्माले विद्युत् प्राधिकरणभित्र परेको प्वाल टालेको कारण केही व्यक्तिहरुमा छटपटी बढेको भन्दै त्यस्तो छटपटी अझ बढाईदिने समेत बताए।
‘बिजुली चुहिने प्वाल प्राधिकरणभित्रै परेको रहेछ, मैले त्यो प्वाल टाल्न लगाएँ,’ उनले भने, ‘त्यसपछि मात्र लोलसेडिङ हटाउन सकियो।’ मन्त्री शर्माले प्राधिकरणभित्र खान पल्केकाहरुको हर्कतविरुद्ध आफू कठोर भएर प्रस्तुत हुने चेतावनी समेत दिए। आफू लोडसेडिङको गह्रौं भारी बोकेर उर्जा मन्त्रालयको नेतृत्व गर्न आएको भए पनि अहिले थोरै हल्का महशुस भएको अनुभव सुनाउदै उनले देशभर लोडसेडिङ हटाउने योजना बनाइरहेको जानकारी दिए।
देशको समसामयिक राजनीतिक प्रसंगमा उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीयता विरोधी आन्दोलन गरिरहेको आरोप लगाए। उनले संविधान संशोधन प्रस्ताव राष्ट्रलाई एकतावद्ध बनाउने प्रस्ताव भएको भन्दै मन्त्री शर्माले त्यसको विरोध गरेर एमालेले चुनावी राजनीति गर्न खोजेको आरोप लगाए। उनले एमाले र मधेशवादी दलहरु मिलेर संविधान संशोधनको साझा प्रस्ताव ल्याए सरकारलाई मान्य हुने बताए।











