हुम्ला, ४ असोज । महानचाड दशै नजिकिदै गर्दा राजधानीसहित विभिन्न सहर बजारमा दसैँको चटारो चलेको छ । खाद्यन्न, लत्ताकपडा लगायत दशैलाई चाहिने समाग्रीहरुको जोहो गर्दै छन् त्यस ठाउँका उपभोक्ताहरु । तर यही देशमा यस्तो पनि ठाउँ छ, जहाँ दशमा समेत चामलको भात खान पाउदैनन् । उनीहरुलाई सधै दशैमा भात खाना नपाइने भयो भन्ने चिन्ता ह्न्छ । दसैँ नजिक आइसक्दा पनि ढुवानीमा देखिएको असामञ्जस्यका कारण कर्णालीको हुम्लामा अझै चामल पुग्न सकेको छन ।
हुम्लाको सम्भावित भोकमरीलाई लक्षित गरी सरकारले पाँच महिनाअघि नै चामल वितरण गर्ने निर्णय गरेको थियो तर, गत ७ वैशाखको मन्त्रिपरिषद् बैठकले गरेको १० हजार क्विन्टल चामल वितरण गर्ने निर्णय अझै कार्यान्वयन भएको छैन ।
सरकारको निर्णयपछि अहिलेसम्म १ सय १७ क्विन्टल चामल मात्र हुम्ला पुगेको छ । करिब डेढ महिनाअघि दुई हजार क्विन्टल चामल पु(याइएको थियो भने हालसालै एक सय १७ क्विन्टल चामल हुम्ला पुर्याइएको छ । तर, मागको तुलनामा यो निकै न्यून परिमाण हो । ढुवानी समस्याका कारण डेढ महिनाअघि जम्मा दुई हजार क्विन्टल चामल मात्र हुम्ला पुगेपछि ढुवानीमा सहजता ल्याउन नेपाली सेनाका ढुवानीसाधनको प्रयोग गर्ने निर्णय भएको थियो ।
दश हजार क्विन्टलमध्ये ६ सय क्विन्टल चामल तत्काल ढुवानी गर्न डेढ महिनाअघि नेपाली सेनालाई जिम्मा दिइएको थियो । सेनासँग ठूलो भार क्षमताका एमआई १७ जस्ता ठूला हेलिकोप्टर भएकाले टेन्डर नगरी उसैलाई ढुवानी गर्न दिने सहमति आपूर्ति मन्त्रालय र रक्षा मन्त्रालयबीच भएको थियो । तर, सो सहमतिपछि पनि जम्मा १ सय १७ क्विन्टल चामल मात्र हुम्लामा झरेको छ । ‘तत्काल राहतका लागि भनेर सेनाको हेलिकोप्टरबाट ६ सय क्विन्टल चामल हुम्लाको श्रीनगर र सार्केघाडमा लगेर वितरण गर्ने भनिए पनि अहिलेसम्म १ सय १७ क्विन्टल मात्र ल्याइपुर्याइएको छ,’ हुम्लाका प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले भने ‘अघिल्लो वर्षको भोकमरीपछि जनताले श्रमदान गरेका थिए । त्यसबापत बाँड्नुपर्ने चामल पटकपटक ताकेता गर्दा पनि ढुवानी हुन सकेको छैन, वितरण गर्न सकिएको छैन ।’
हुम्लावासीहरु चामलको व्यग्र प्रतीक्षा छ । कतिसम्म भने आकाशमा हेलिकोप्टर देखिए पनि चामल बोकेर आएको हो कि भन्ने आशामा हुम्लावासी हुन्छन् । तर, काठमाडौंमा रहेको आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराज रेग्मी समयमा ढुवानी हुनुपर्ने भए पनि के–कति कारणले रोकिएको हो भन्ने आफूले बुझ्न नपाएको बताउँछन् ।











