काठमाण्डौ, २१ भदौ ।
सरकारले म्यानपावर एजेन्सीहरुलाई पनि जिल्ला तहमा शाखा कार्यालय विस्तारका लागि अनुमति दिने भएको छ । अहिलेसम्म कुनै पनि म्यानपावरले शाखा कार्यालय खोल्न अनुमति पाएका छैनन् । तर, दलालको अवाञ्छित सक्रियताका कारण वैदेशिक रोजगारी ‘ठगीको धन्दा’ बनेको भन्दै सरकारले म्यानपावरहरुलाई शाखा विस्तारका लागि अनुमति दिने तयारी अन्तिम चरणमा पु¥याएको छ ।
वैदेशिक रोजगार ऐनमा पनि म्यानपावर कम्पनीहरुलाई शाखा कार्यालय खोल्न दिन सकिने उल्लेख छ । तर, सरकारले ठगी बढ्नुका साथै अनुगमन र नियमनमा समस्या हुन सक्ने भन्दै शाखा खोल्न रोकेको थियो । अब केही समयभित्रै म्यानपावरहरुलाई शाखा विस्तार गर्न इजाजत दिने प्रक्रिया सुरु हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।
एजेन्टका कारण वैदेशिक रोजगारीका जाने कामदार ठगिने क्रम झनै बढेकाले म्यानपावरको शाखा विस्तारलाई खुला गर्नु पर्ने उसको निष्कर्ष छ । विभागका प्रवक्ता मोहन अधिकारीले म्यानपावरहरुलाई जिल्ला–जिल्लामा शाखा खोल्न नदिँदा दलालहरुको सक्रियता ठग्ने मनासयबाटै प्रेरित भएको पाएपछि यो कदम चाल्न लागेको वताउनुभयो ।
छुट्टै कार्यविधि बन्दै
म्यानपावरलाई शाखा खोल्ने अनुमति दिनुअघि मन्त्रालयले यससम्बन्धी छुट्टै कार्यविधि जारी गर्ने भएको छ । अहिल मस्यौदा भइरहेको कार्य्विधिलाई छिट्टै अन्तिम रुप दिएर मन्त्रीस्तरीय निर्णयबाट पारित गरिनेछ । सरकारले अहिले एउटा म्यानपावरलाई १४ वटासम्म शाखा विस्तार गर्नसक्ने व्यवस्था प्रस्ताव गरेको छ । प्रत्येक अञ्चलमा एउटा शाखा खोल्न सकिने गरी अनुमति दिन गृहकार्य भइरहेको विभागले जनाएको छ ।।











