आरके. कार्की
जाजरकोट, १३ भदौ । १८ बर्ष अघि बेपत्ता पारिएको छोरालाई अहिले पनि जाजरकोट भेरीमालिका १ कालेगाँउकी ६५ बर्षिया चनमती बटालाले झलझली सम्झिरहेकी छन । २०५५ सालमा घर नजिकैबाट तत्कालिन विद्रोही माओवादीमा लागेको आरोपमा प्रहरीले उनका छोरा दीपक बटालालाई पक्राउ गरि बेपत्ता पारेको हो । बेपत्ता पारिएको आफ्नो छोराको लास वा सासको अवस्था सार्वजनिक गर्न पहल गरिदिन चनमतिले मानवअधिकारकर्मी सँग माग गरेकी छन् ।2 द्धन्दकालमा भएका घटनाको अनुसन्धान गर्न जाजरकोट आइपुगेको राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगंजको टोलीसँग उनले यस्तो माग गरेकी हुन् । उनले अहिले पनि छोरो फर्केर आउँछ कि भन्ने आशा कायमै रहेको बताईन । आयोगको क्षेत्रीय कार्यालय नेपालगंजवाट मानवअधिकार अधिकृत रमेश थापा को नेतृत्वमा आएको ४ सदस्यीय टोलीले भेरीमालिका नगरपालिकाका वाहुनथान, रीसाङ्ग, कालेगाउँ, पीपे रीम्ना, कुस्तरा, जगतीपुर लगायतका स्थानमा द्धन्दकालमा भएका मानवीय तथा भौतिक क्षति भई पिडित भएका परीवारहरु सँग भेटघाट गरी तथ्य संकलन गरेको हो ।

त्यस्तै भेरीमालिका १ पिपेका टकवीर रानाले पनि आफ्ना बेपत्ता छोराको बारेमा यथार्थ पत्ता लगाई दिन आयोगका कर्मचारी समक्ष माग गरेका छन् । छोरा गुमानसिह रानालाई २०५६ सालमा माओवादी आरोपमा सुर्खेतमा पक्राउ गरि बेपत्ता पारिको तर अहिले सम्म नत मरेका जानकारी पाएको छु न त जिउँदै छ भन्ने जानकारी पाएको छु । यदि मारिएको भए किन कसरी काहा मारियो मलाई यथार्थ जानकारी हुनु पर्छ उनले आफ्नो पिडा सुनाउँदै भने जीवित छ भन्ने आशा नभएको तर घटनाको जानकारी थाह पाउने आफ्नो अधिकार कुन्ठित भएको गुनासो सुनाए ।1

उनले बेपत्ता पार्नेलाई कारवाही हुनु पर्ने बताए । टोलीले भेटघाटको क्रममा आयोगका कार्यालयमा परेका उजुरी तथा अन्य पिडीतहरुसँग द्धन्दकालिन घटनाको वारेमा जानकारी लिएको छ । आयोग सँग पिडितहरुले आफ्ना गुनासा तथा समस्याहरु अवगत गराएका छन् । द्धन्दकालमा मारिएका परिवारका सन्ततीलाई १८ बर्ष सम्ममात्र छात्रबृत्ति दिईदै आएकोमा पढ्दा सम्म छात्रबृति दिने ब्यवस्था मिलाउन आग्रह गरेका थिए ।

त्यस्तै सवै सहिद परिवारलाई १० लाख रुपैया दिने भनिएपनि ५ लाख सम्म मात्र पाएको गुनासो गरेका छन् । पिडित परिवारले जीवन निर्वाहमा समेत समस्या परेको गुनासो गरेका छन् । द्धन्दकालमा आमाबाबु दुवै गुमाउन बाध्य कमला खड्काले घरका मुख्य मान्छे गुमे पछि आश्रित परिवारलाई जीवन निर्वाहमा निकै समस्या परेका दुखेसो ब्यक्त गरिन् ।

भेरीमालिका १ को बडालेख र उब्जेलेखमा २०५४ सालमा सुरक्षाकर्मीले माओवादीको आश्रय स्थल भएको भन्दै ६४ घरगोठ आगो लगाएर जलाएको तर हाल सम्म क्षतिपुर्ती नपाएको एक जना पिडित भेजी रानाले बताए । उनले द्धन्दकालमा सुरक्षाकर्मीले पिपे , बडालेख , रिम्ना लगायतका गाँउमा निकै ज्यादती गरेको गुनासो सुनाएका थिए ।

मानवअधिकार आयोगको टोलीले एक सय बढी पिडित परिवार सँग द्धन्दकालिन घटनाका बारेमा जानकारी लिएको मानवअधिकार अधिकृत टंक खनालले बताए । उनले पिडितका समस्या र माग बारे आयोग मार्फत सरकारको ध्यानकर्षण गराईने जानकारी दिए । जाजरकोटमा ११ जना बेपत्ताको सुचीमा रहेको रेडक्रसले जनाएको छ । जिल्लामा ३ सय ५६ जनाले ज्यान गुमाएका थिए भने सयौ अपाङ्ग र धेरैको धनसम्पति गुमेको स्थानिय शान्ति समितिले जनाएको छ ।।