

भदौ ९ कोलम्बिया । कोलम्बिया सरकार र फार्क बिद्रोहीबिच शान्ति सम्झौता भएको छ ।
चार वर्ष लामो वार्तापछि कोलम्बिया सरकार र फार्क बिद्रोहीले शान्ति सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
शान्ति सम्झौतासँगै ५० वर्ष भन्दा लामो समयदेखिको द्वन्द्व अन्त्य भएको छ ।
सरकारी तथा फार्क बिद्रोहीका प्रतिनिधिले राजधानी हवानामा आफूहरु समहतिमा पुगेको र अब पाँच दशक भन्दा लामो समयदेखि चलिरहेको संघर्ष अन्त्य हुने बताएको समाचार संस्था रोयर्टसले जनाएको छ ।
दुवै पक्षले वार्ताका मध्यस्तकर्ता क्युवा र नर्वेका प्रतिनिधिको उपस्थितिमा शान्ति सम्झौतामा हस्ताक्षर गरेका हुन् । सरकार र फार्क बिद्रोहीबिच सन् २०१२ को नोभेम्बरदेखि वार्ता हुँदै आएको थियो ।
कोलिम्बयामा चलेको फार्क संघर्षको क्रममा झण्डै दुई लाख २० जना मानिसको ज्यान गएको थियो । यस्तै दशौं लाख मानिस विस्थापित भएका छन् । सरकारी वार्ता टोलीका प्रमुख हुमबेर्टो डी ला काल्ली तथा फार्क बिद्रोहीको वार्ता टोलीका प्रमुख इभान माक्र्वेजले शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन् ।
शान्ति सम्झौतामा हस्ताक्षर क्युवामा भएको हो । तर यसको घोषणा कोलम्बियाको राजधानी हवानामा गरिएको हो । सरकारी वार्ता टोलीका प्रमुख काल्लीले शान्ति सम्झौतासँग आफूहरुको लक्ष्य पूरा भएको बताउनुभयो ।
यसले नयाँ सुरुवातको ढोका खोलेको तथा कोलम्बियाको समाजलाई थप समावेशी बनाउन सहयोग पुग्ने उहाँको भनाई छ । फार्क वार्ता टोलीका प्रमुख माक्र्वेजले धेरै आरोह अवरोह तथा उज्यालो अँध्यारो पार गरेर एउटा कठिन काम पूरा भएको बताउनुभयो ।










