काठमाडौँ, ३१ साउन । नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशन अन्तर्गत आइतबारबाट निर्वाचन प्रक्रिया सुरु भएको छ ।
प्रतिनिधि विवादका कारण महाधिवेशन लम्बिएसँगै भृकुटीमण्डपस्थित सभाहलको बुकिङ अवधि सकिएपछि महाधिवेशनका सम्पूर्ण कामकारबाही सानेपास्थित नेपाली काँग्रेसको पार्टी कार्यालयबाट भइरहेका छन् ।
महाधिवेशन आयोजक समितिका संयोजक एवं नेविसङ्घका अध्यक्ष रञ्जित कर्णले आइतबार दिनभर महाधिवेशन प्रतिनिधिलाई परिचयपत्र वितरणको काम सम्पन्न भएको जानकारी दिनुभयो ।
नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता कार्यक्रम आइतबारै अपराह्नदेखि सोमबार बिहान ८ बजेका लागि राखिएको छ । महाधिवेशन निर्देशन समिति र असन्तुष्ट पक्षबीच भएको सहमति अनुरूप महाधिवेशन प्रतिनिधि थप्ने कार्य अवैध भएको भन्दै पार्टीका वरिष्ठ नेता रामन्द्र पौडेल पक्षधर विद्यार्थीले विरोध गरेपछि आइतबारका लागि तय गरिएको उम्मेदवारी दर्ता सोमबार गर्ने गरी सारिएको हो ।
