रोल्पा, २७ साउन ।
युवा गजलकार एवम् मुक्तककार राकेश बिएमलाई ‘दियो नवप्रतिभा पुरस्कार–२०७२’ प्रदान गरिने भएको छ । ललित साहित्य परिषद्, रोल्पाले ‘काँडामाथिको यात्रा’ गजलसङ्ग्रहका लागि बिएमलाई उक्त पुरस्कार प्रदान गर्ने भएको हो । परिषद्को बुधबार बसेको बैठकले रोल्पा जिल्लाबाट २०७२ सालभरिमा प्रकाशित कृतिहरुमध्ये राकेश बिएम कान्छो कृतिकार भएकोले दियो नवप्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । १५१ औं मोती जयन्तीको लिबाङमा हुने ५ नम्बर प्रदेशस्तरीय गजल प्रतियोगिताको अवसरमा उनलाई पुरस्कार प्रदान गरिने परिषद्का महासचिव नवीन लोचन मगरले बताए ।
साहित्यकारत्रय डी.बी. टुहुरो, इन्द्र यात्री र ओम पन्छीले २०६१ सालमा उक्त पुरस्कार स्थापना गरेका हुन् । पुरस्कारको राशी नगद १ हजार र प्रमाण–पत्र रहेको परिषद्का अध्यक्ष ओम केसीले बताए । दियो नवप्रतिभा पुरस्कार हरेक वर्ष मोती जयन्तीको अवसरमा प्रदान गरिदै आएको छ ।
यसैबीच बैठकले परिषद्ले साउन २२ गते लिबाङमा सम्पन्न पुरस्कार हस्तान्तरण समारोहको खर्च अनुमोदन गर्नुका साथै कार्यक्रम सफल पार्न सहयोग गर्ने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरु तथा सहभागी सबैलाई धन्यवाद दिने निर्णय समेत गरेको छ ।
यस्तै एकल रचना वाचनको २६ औं श्रृंखलाका एकल रचना वाचकको व्यक्तित्वमाथि प्रकाश पार्ने जिम्मा कवयित्री केवी विरहीलाई दिने निर्णय गरेको छ । यही साउन २९ गते शनिबारका दिन कवि गोकर्ण पुनले एक रचना वाचन गर्दैछन् ।।