बाँके, २७ साउन
निजी स्तरबाटै पहिलोपटक नेपालगञ्जमा आजदेखि अन्तर्रा्ष्ट्रिय अवधि महोत्सव सुरु भएको छ । महोत्सव उद्घाटनमा बोल्ने अतिथिहरुले अवधि भाषा लोप हुँदै गएको भन्दै संरक्षणमा जोड दिएका छन् । अवधि भाषा, साहित्य र संस्कृतिको विकासका लागि राज्यले पनि चासो दिनुपर्ने उनीहरुको माग छ । अवधि साँस्कृतिक प्रतिष्ठनका अध्यक्ष बिष्णुलाल कुम्हालको सभापतित्वमा भएको उद्घाटन सत्रमा अवधि समुदायका अगुवा पशुपति दयाल मिश्र, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेत, समाजसेवी नन्दलाल बैश्य लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा अवधि क्षेत्रको विकासमा सहयोग पु¥याउने दर्जन बढीलाई सम्मान गरिएको छ । सञ्चार क्षेत्रबाट अर्जुन ओली, साहित्यबाट सनत रेग्मी, अवधि भाषाबाट मोदनीप्रसाद केवट, स्वास्थ्य क्षेत्रबाट डाक्टर बिनोद थापा लगायतलाई सम्मान गरिएको हो । प्रतिष्ठानका अध्यक्ष कुम्हालका अनुसार, ४ सत्रमा आयोजना गरिएको कार्यक्रममा नेपाल र भारतका स्रष्टाहरुले अवधि भाषा, साहित्य र संस्कृतिको अवस्था, संरक्षणका उपाय लगायतका बारेमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत भएका छन् । नवलपरासीदेखि महेन्द्रनगरसम्मका विभिन्न अवधि भाषी अगुवाहरुको महोत्सवमा सहभागिता छ । सन्तशिरोमणि भक्त कवि तुलसीदासको ५ सय १९औं जयन्ती तथा अवधि दिवसको अवसर पारेर महोत्सवको आयोजना गरिएको हो ।।