
दसौं वसन्त पश्चात्
रङ बिरङका रहर भरिला सपना बिसाउनलाई
आउँदै गरेको एउटा परदेशीझैँ
दुबै चुल्ठोमा गुराँसका थुँगा सिउरिएकी
एउटी पल्लविनीलाई सुकिलो ऎना देखाउँदै
हतारमा बगिरहन्छ पिखुवा।
मायावी पातलीको झिनो कम्बरजस्तो सांघुरो गल्छी
बलैले थेगिएर हिड्ने अभावका छाकहरु
अन्योलका ढाकरहरु
तोक्मा लगाउँन नपाउँदै
उधृन्छन लाजका आवरणहरु
भासिन्छन् भरोसाका पाइलाहरु।
बज्छन्………… टा………………ढा कतै
रहरका मनमोहक धुन पनि।
विधवा यौवना जस्तो यो प्रगाढ चित्र प्रकृतिको
न स्कुल न क्याम्पस
न औषधालय, न सडक,न शौचालय
धिपधिप टुकीले रात काम चलाउँछ
बादल्को छानो हालेर
मनै पग्लने गरि फुलेका छन् लेकमा गुराँस
त्यही गुराँसको फेदतिर हामी पैदल हिंड्छौँ
आफैँले खनेको मोटरबाटोमा।
छातीभरि सुन पोल्टाभरि हीरा लुकाएर
निर्मग्न हेरिरहन्छ ट्याम्के
टुंडिखेलका खेलहरु।
इतिहासका शालीन भित्तामा उभिएका छन्
योगमाया,षडानन्द,रामप्रसाद र नारदमुनिहरु
अझै पनि बैसालु देखिन्छन्
तिनका छातीमा बहादुरीका प्रमाणपत्र।
मन्जुश्रीले हतारमा नदेखे पनि
अनुप्रास मिलेको यो फूलको पोखरी
अनन्त फैलिएको सौरभको बगान
अभावमा कहालिँदैन
सन्त्रासमा अतालिँदैन
न त बेदनामा छटपटाउँछ नै
पहाड न हो पहाडको छाती बोकेर
ओराल्छ घाम आँखाका आँगनहरुमा।
शिद्धकाली,धापखर्क,सुन्तले,तिनतले,गुराँसे भीर,अरुण,साल्पा पोखरी सिलिचुङ हुँदै
धुपी सल्लाका पात पात प्रेमपत्र कोरेर पठाइरहन्छ
मौसम बेसौम उसैगरी।
सगरमाथा पुग्छ
माछापुच्छ्रे,चोभार घन्टाघर हुँदै
साथमा चांप,चिमाल सुनगाभा
थालीभरी हिउँकाअक्षता मुछेर
साइतमा स्वागत गर्छ मेरो देशलाई
भोजपुरसँगै टयाम्के।











