जनकपुरधाम । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएकी छन् । राजविराज नगरपालिका–१४ पर्साही बस्ने ती महिला सुत्केरी व्यथा लागेपछि अस्पताल गएकी थिइन् । तर पैसा नभएका कारण अस्पतालले भर्ना लिन नमानेपछि सडक पेटीमै बच्चा जन्माएको बताइएको छ ।
घटना बुधबार बिहान करिब साढे २ बजेको हो । अहिले सरकारी अस्पताल अगाडि फुटपाथमा विपन्न महिला प्रसूति भएको भिडियो सार्वजनिक भएपछि सरकार र अस्पतालको चर्को आलोचना भइरहेको छ । राति डेढ बजे व्यथा लागेपछि ती महिला श्रीमान् र दुई जना सासु नातापर्ने महिलालाई लिएर अस्पताल पुगेकी थिइन् । त्यहाँ पुगेपछि अस्पतालको प्रसूति विभागमा खटिएकी स्टाफ नर्सले पहिले अल्ट्रासाउन्ड, प्रयोगशालाबाट रगत र पिसाब परीक्षण गर्नुपर्ने बताएकी थिइन् । त्यसका लागि २ हजार ५०० लाग्ने अस्पतालले बताएको थियो ।











