काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री बालेन शाह प्रधानमन्त्रीको कुर्सीमा बस्न नसुहाउने बताएका छन् । प्रतिनिधि सभामा बोल्दा नेपालले पनि भारतका जग्गा मिचेको खतरनाक अभिव्यक्ति दिएको भन्दै बालेन देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न नसुहाउने बताएका हुन्।
आइतबार बालेनले संसदमा भनेका थिए,‘मैले पनि अस्ति प्रधानमन्त्री भएपछि थाहा पाएको कुरा भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। अनि, यो कुरा अस्ति भर्खरै मात्र थाहा भयो।’ उक्त अभिव्यक्तिलाई लिएर चौतर्फी विरोध भइरहेको छ।
बालेनको अभिव्यक्ति अत्यन्त गम्भीर, दुखद, गलत र राष्ट्र विरोधी अभिव्यक्ति भएको बताउँदै उनले कुन दस्तावेजका आधारमा यस्तो खतरनाक अभिव्यक्ति दिएको भन्दै प्रश्न गरे।
‘हिजो प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधि सभामा बोल्दा नेपालले समेत भारतका जग्गा मिचेको खतरनाक अभिव्यक्ति दिन पुगे। यो अत्यन्त गम्भीर, दुखद, गलत र राष्ट्र विरोधी अभिव्यक्ति हो।’ खनालले भने,‘हामी नेपाली जनता युगौँ देखि विदेशी अतिक्रमणका विरुद्ध संघर्ष गर्दै आएका छौं र अहिले पनि हाम्रो देशमाथि अतिक्रमण भइरहेको छ। त्यस्ता कार्यलाई हलुका बनाउने र विदेशीहरूको चाकडी गर्ने हिसाबले यस्ता अभिव्यक्ति दिनु राष्ट्र विरोधी कार्य हो। वहाँले कुन तथ्य, कुन प्रमाण र कुन दस्तावेजका आधारमा यस्तो खतरनाक अभिव्यक्ति दिएको हो ?’











