बुटवल । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा बुटवल उपमहानगरपालिका देशकै उत्कृष्ट भएको छ । देशभरिका ११ उपमहानगरपालिकामध्ये बुटवल उपमहानगरपालिका ६४ दशमलब ४४ अङ्कसहित उत्कृष्ट भएको हो ।

कार्यसम्पादन मूल्याङ्कन नतिजा अनुसार सबैभन्दा कमजोर भने इटहरी उपनगरपालिका छ । इटहरीले ३८ दशमलब ९६ अङ्क मात्र पाएको छ ।

सार्वजनिक तथ्याङ्क अनुसार दाङको दुई उपमहानगरमध्ये तुलसीपुर उपमहानगरपालिकाले ६१ दशमलब ५३ र घोराहीले ६१ दशमलब ०८ अङ्क पाएको छ । धरान उपमहानगरपालिकाले ४९ दशमलब ७६ अङ्क पाएको छ ।

आयोगले स्थानीय तहका हकमा कुल १७ सूचकमा मूल्याङ्कन गरेको थियो । जसमा १० असारभित्र बजेट सार्वजनिक गरे नगरेको, असार मसान्तभित्र बजेट पास गरे नगरेको उल्लेख छ ।

त्यस्तै आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे नगरेको समेत मूल्याङ्कनको सूचक मानिएको छ ।