काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव कायमै छ । पुसको पहिलो सातादेखि नै तराई र मधेशका जिल्लाहरुमा बाक्लो हुस्सु र कुहिरो लाग्दै आएको छ । यसले गर्दा चिसो बढेर गएको छ । आज पनि यस क्षेत्रमा बाक्लो हुस्सु र कुहिरोको प्रभाव छ ।

आज दिउँसो यसअघिको तुलनामा थोरै मात्रामा भए पनि तराईको आकाश खुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि पूर्ण रूपमा हुस्सु र कुहिरो हट्ने अवस्था नरहेको महाशाखाले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको छ भने लुम्बिनी प्रदेशसहित कर्णाली, सुदूरपश्चिम तथा बाँकी उच्च पहाडी र हिमाली भू–भागमा पनि आंशिक बदली हुने अनमान छ ।

यसैगरी कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । चिसोका कारण तराईका जिल्लाहरुमा केही विद्यालय बन्द भएका छन् ।