काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सिद्धान्त र विचार स्पष्ट नभइ केही नयाँ भनिने दलहरूले एकताका नाममा प्रधानमन्त्री पदको दलाली गरेको बताएका छन् । आफूले नेतृत्व गरेको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज भएको एकता घोषणा सभामा उनले यस्तो बताएका हुन् ।

पुराना दलहरूलाई समेत जनताले विश्वास नगरेको अवस्थामा विचारमा स्पष्ट र विचलित पार्टी राप्रपाबाहेक अरु कोही नरहेको लिङ्देनको दावी थियो । पार्टी एकतामा लिङ्देन र थापाले एकीकरण सम्बन्धी ६ बुँदे आधारपत्रमा हस्तक्षर गरेका छन्। एकीकरणसम्बन्धी आधारपत्रमा पूर्ण धार्मिक स्वतन्त्रसहितको सनातन धर्म सापेक्ष हिन्दुअधिराज्य राजसंस्थासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीतिको सिद्धान्त मार्ग दर्शन हुने उल्लेख छ।