काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी र हिमाली भागमा आंशिक बदली छ भने तराई भागमा बाक्लो हुस्सु र कुहिरो छ ।
बाक्लो हुस्सु र कुहिरोका कारण यो क्षेत्रमा लामो समयसम्म घाम लाग्ने गरेको छैन । यसैकारणले चिसोले जनजीवन प्रभावित भएको छ । विषेश गरी काम गरिखाने वर्ग, बालबालिका, ज्येष्ठ नागरिकहरु बढी प्रभावित भएका छन् ।
बाँकेमा अस्ति बिहानदेखि लागेको बाक्लो कुहिरो र हुस्सुसँगै चिसो बढ्दै गएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए । बालबालिका, ज्येष्ठ नागरिक र विपन्न वर्गमा रुघाखोकी, श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्या पनि बढेको छ ।
त्यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नगरभित्रका विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ । चिसोका कारण जनजीवन कष्टकर बन्दै गएपछि बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै नगरपालिका क्षेत्रभित्रका सामुदायिक र संस्थागत विद्यालयमा आज र भोलि बिदा दिने निर्णय गरिएको हो ।
सप्तरीको सुरुङगा नगरपालिकाले ५० जना र खडक नगरपालिकाले १ सय ५० जना अशक्तलाई कम्बल वितरण गरेको छ । त्यसैगरी रौतहटको गौर नगरपालिकाले जाडो बढेसँगै चोक–चोकमा आगो बाल्नका लागि डिभिजन वन कार्यालयसँग दाउरा माग गरेको छ । पुसलागेयता चिसो बढेको छ । घाम नलाग्ने र दिनभर चिसो हावा चल्ने क्रम बढेपछि दैनिकी नै प्रभावित बन्न थालेको छ ।











