काठमाडौं । नेपाली सेना जंगी अड्डाले सैनिक पदमा ३६०० नयाँ भर्ना खोलेको छ । सेनाको विभिन्न पृतना, गण तथा बाहिनीहरुमा नयाँ भर्ना गर्नका लागि जंगी अड्डाले दरखास्त आह्वान गरेको हो। इच्छुक एवम् योग्यता पुगेका नेपाली नागरिकहरुले कात्तिक २८ देखि मंसिर २७ गतेसम्म दरखास्त दिन सक्नेछन्। दोब्बर दस्तुर बुझाएर मंसिर २८ देखि पुस ५ गतेसम्म दरखास्त दिन सक्नेछन्।
उपत्यका पृतना नारायणहिटीका लागि ३५० जना, काभ्रेको भकुण्डेबेसीस्थित २६ नम्बर बाहिनी अड्डाका लागि ७५ जना, भक्तपुरको सूर्यविनायकस्थित रणशेर गणका लागि १०० जना, सुनसरीको इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरका लागि २०० जना लगायत विभिन्न गणहरूमा विभिन्न संख्यामा सैन्य पदमा नयाँ भर्ना खोएिको हो ।
सबैभन्दा बढी सुर्खेतको निमारेस्थित श्री उत्तर पश्चिम पृतना हेडक्वार्टरका लागि ४२५ जना मागेको छ। सैन्य पदका लागि शैक्षिक योग्यता कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्नेछ। एसईई वा सोभन्दा माथिका शैक्षिक योग्ताको प्रमाणपत्र पेस गर्नेहरूले भने कक्षा ८ को प्रमाणपत्र बुझाउनुपर्ने छैन। लेटर ग्रेडिङको हकमा कक्षा ८ मा न्यूनतम जिपिए २ ल्याएको हुनुपर्ने र कुनै पनि विषयमा डि प्लस भन्दा कम हुन हुनुहुदैन भने एसइई वा सोभन्दा माथिकै शैक्षिक योग्यता प्रमाणपत्र पेश गर्नेको हकमा न्यूनतम जिपिए १.६ अनिवार्य गरिएको छ । विभिन्न ट्रेडका फलोअर्स पदका लागि भने साधारण लेखपढ गर्न सक्नेले पनि दरखास्त दिन सक्ने व्यवस्था गरिएको छ ।












