इन्द्रेणी संवाददाता
दाङ । असोज २४ गतेको जेनजी आन्दोलनका क्रममा दाङ देउखुरी जिल्ला अदालत, जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रहरी विट तथा अन्य स्थानमा आगजनी र तोडफोड गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा घोराही १५ बस्ने बर्ष २४ का सुनिल थापा मगर, सोहीका वर्ष २४ का कुनाल श्रेष्ठ, वर्ष २४ का ईनाहित कुरेसी, वर्ष १८ का टेकम डाँगी, वर्ष १८ का बिबेक पुन मगर, सल्यान छत्रेश्वरी ४ बस्ने वर्ष २६ का अमर बहादुर वली, घोराही १३ बस्ने वर्ष २९ का महेश घिमिरे र घोराही ९ ढिकपुर बस्ने वर्ष ३४ का शरद बस्नेत रहेका छन् । उनीहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको आगजनी, लुटपाट र चोरी घटनामा संलग्न रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
यसैगरी घोराही उपमहानगरपालिका वडा नं. १५ भानु चोकस्थित प्रहरी बिटमा ढुङ्गामुढा, तोडफोड तथा आगजनी गर्ने गरेको आरोपमा घोराही १३ बस्ने वर्ष २५ को सन्दिप घर्तीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको आगजनी, लुटपाट र चोरी घटनामा संलग्नलाई पाँच दिन र प्रहरी बिटमा ढुङ्गामुढा, तोडफोड तथा आगजनीलाई सात दिनको अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी दिएका छन् ।












