काठमाडौँ । दुई साताअघिको प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडबाट निजी क्षेत्रमा मात्रै ८० अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको छ । निजी व्यावसायिक प्रतिष्ठानका भौतिक संरचनामा क्षति पुग्दा १५ हजारभन्दा बढीको रोजगारी प्रभावित भएको प्रारम्भिक अध्ययन छ ।

नेपाल उद्योग वाणिज्य महासंघले प्रत्यक्ष रूपमा भएको क्षतिको प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको हो । यसबाट अप्रत्यक्ष रूपमा परेको क्षति धेरै ठूलो हुने महासंघले जनाएको छ । ‘महासंघले देशैभरको क्षति विवरण संकलन गरिरहेको छ । हालसम्म उपलब्ध तथ्यांक र सूचनाअनुसार निजी क्षेत्रमा ८० अर्बभन्दा बढीको क्षति भएको प्रारम्भिक आकलन रहेको छ,’ महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने ।

जतिसक्दो चाँडो क्षति विवरण उपलब्ध गराउने गरी देशैभर सर्वेक्षण भइरहेको महासंघले जनाएको छ । प्रदर्शनकारीले अर्बौं लगानी रहेका होटल तथा पर्यटन क्षेत्र, भाटभटेनी सुपरमार्केट, चौधरी ग्रुप, चन्द्रागिरि केबलकार, मौलाकालिका केबलकारलगायतमा तोडफोड र आगजनी गरेका थिए । ती कम्पनीबाट हजारौंले रोजगारी पाइरहेका थिए ।

‘आन्दोलनका क्रममा निजी क्षेत्रमाथि आक्रमण हुनुले निजी क्षेत्रको महत्त्व बुझ्न नसकिएका रूपमा हेर्न सकिन्छ,’ महासंघका अध्यक्ष ढकालले भने । महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले गरेको अध्ययनअनुसार अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत छ भने ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले दिइरहेको छ ।

महासंघका अध्यक्ष ढकालले अर्थतन्त्र पुनःस्थापना र सुशासन कायम गर्न निजी क्षेत्र र सरकारबीच निरन्तर संवाद संयन्त्र निर्माण गर्न, व्यवसायीलाई आत्मविश्वासका साथ खुला रूपमा व्यवसाय गर्न सक्ने वातावरणको सुनिश्चितता कायम गर्न आग्रह गरे । ‘हामी पनि सम्हालिँदै र सरकारलाई पनि सघाउँदै सहकार्य गर्न तयार छौं,’ उनले भने ।

२४ भदौको प्रदर्शनका क्रममा मुलुकभर भौतिक संरचनामा भएको क्षति नेपालको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० को करिब ५ प्रतिशत हाराहारी रहेको नेपाल उद्योग परिसंघको प्रारम्भिक अनुमान छ । जीडीपीको ५ प्रतिशत क्षति भनेको ३ खर्ब हाराहारी हो । हाल नेपालको जीडीपी ६१ खर्ब ७ अर्ब रुपैयाँ बराबर छ ।

परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेका अनुसार निजी क्षेत्रको मात्रै एक खर्बभन्दा बढी मूल्यको भौतिक संरचना क्षतिग्रस्त भएको छ । ‘सरकारी संरचना र बिमा नभएका निजी संरचनामा प्रत्यक्ष क्षति तथा तीसँग सम्बन्धित व्यापार, व्यवसाय, रोजगारलगायतका अप्रत्यक्ष क्षति हेर्दा जीडीपीमा करिब ५ प्रतिशतको असर पुगेको अनुमान छ,’ उनले भने ।

निजी तथा सार्वजनिक संरचना ध्वस्त हुँदा लगानीकर्ताको मनोबल घटेको अध्यक्ष पाण्डेले बताए । अहिलेको परिस्थितिमा लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु अत्यन्त जरुरी रहेको उल्लेख गर्दै उनले त्यसका लागि सरकार थप जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए ।

‘अर्थतन्त्रलाई फेरि माथि उठाउनका लागि वित्त नीति र मौद्रिक नीतिमार्फत सुविधा प्याकेज ल्याउन आवश्यक छ,’ उनले भने, ‘सरकार अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्नुपर्छ । ठूला उद्योगका लागि निश्चित समय सीमासहितको सहुलियत प्याकेज ल्याउनुपर्छ ।’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल मुलुकभर निजी क्षेत्रको पौने २ खर्ब रुपैयाँ बराबरको क्षति पुगेको दाबी गर्छन् । ‘उद्योग वाणिज्य महासंघले सार्वजनिक गरेको ८० अर्ब क्षतिको तथ्यांक प्रारम्भिक हो । त्यो बढेर करिब १ खर्ब ८० अर्बसम्म पुग्छ,’ उनी भन्छन् ।

पर्यटन क्षेत्रमा २५ अर्बको क्षति

दुई साताअघिको तोडफोड र आगजनीबाट होटल तथा आतिथ्य क्षेत्रमा करिब २५ अर्ब रुपैयाँको क्षति पुगेको छ । करिब २५ होटलले क्षति खेप्नुपरेको प्रारम्भिक आकलन रहेको होटल संघ नेपाल ९हान० ले जनाएको छ ।

नेपालले आगामी २७ सेप्टेम्बर ९११ असोज० मा विश्व पर्यटन दिवस मनाउँदै छ । यस अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले नेपाल सुरक्षित पर्यटन गन्तव्य रहेको स्पष्ट सन्देश विश्वलाई दिनुपर्ने माग संघको छ । हालका घटनाले पर्यटकलाई कुनै क्षति नपुगेको तथ्य विश्वसामु प्रस्तुत गर्नुपर्ने तथा आगामी दिनमा सरकार र निजी क्षेत्र मिलेर पर्यटनलाई अर्थतन्त्रको मेरुदण्ड बनाउन प्रतिबद्ध रहेको देखाउनुपर्नेमा संघले जोड दिएको छ ।

अटोमोबाइल्समा १५ अर्बको क्षति

प्रदर्शनकारीले गरेको तोडफोड र आगजनीबाट १५ अर्ब रुपैयाँ हाराहारी क्षति पुगेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले प्रारम्भिक अनुमान गरेको छ । नाडाका अनुसार प्रारम्भिक रूपमा काठमाडौंसहित देशभरका अटो डिलर, शोरुम, वायरहाउस, स्पेयर पार्ट्स स्टोरलगायतमा क्षति भएको छ  आजको कान्तिपुरमा खबर छ। सबैभन्दा धेरै क्षति थापाथली क्षेत्रमा भएको नाडाले जनाएको छ । कलंकी, हेटौंडा, पोखरा, नारायणगढलगायतका डिलरमा पनि क्षति भएको छ ।