चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन–नारायणगढ सडक तत्काल नखुल्ने भएकाले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । चितवनको तुइनखोलामा खसेको ठूलो सुक्खा पहिरोका कारण मुग्लिन–नारायणगढ सडक पूर्ण रूपमा बन्द छ । मंगलबार दिउँसोदेखि नै सडक बन्द भएकोमा बेलुका थप पहिरो खसेपछि सडक खुलाउन समय लाग्ने भएको हो।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार वैकल्पिक सडकका रूपमा महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौंडा, रुपन्देहीको बुटवल, नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावासोती र गैंडाकोट, धादिङको नौबिसे तथा तनहुँको हकमा खैरेनीटारबाट वैकल्पिक मार्ग प्रयोग गर्न सकिने छ ।
चितवनबाट काठमाण्डौ आउजाउ गर्नका लागि (साना गाडी मात्रै) चितवनको जुटपानी, शक्तिखोर, मायाटार हुँदै धादिङको मलेखु निस्कने वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ । त्यस्तै धादिङको नौबिसेबाट मकवानपुरको हेटौंडा निस्कने त्रिभुवन राजपथको बाटोलाई वैकल्पिक सडकको रूपमा प्रयोग गर्न सकिने प्रशासनले जनाएको छ ।
त्यस्तै मकवानपुरको हेटौंडाबाट भैंसे, भीमफेदी, कुलेखानी, सिस्नेरी हुँदै दक्षिणकालीको बाटो भएर काठमाण्डौ पुग्न सकिन्छ । हेटौंडा–काठमाण्डौ आउजाउ (ठूला गाडी मात्र) का लागि कान्ति लोकपथ प्रयोग गर्न सकिनेछ । चितवनबाट पोखरा जानका लागि ठूला तथा साना दुवै गाडीले बुटवल हुँदै पोखरा जान सक्नेछन् । त्यस्तै चितवनबाट कालीगण्डकी करिडोरको बाटो (सानो गाडी मात्रै) गैंडाकोट भिमाद हुँदै तनहुँ निस्कन सकिनेछ । नेपालीहरुको महान चाड बडादशैको मुखमै आएर सडक बन्द हुँदा यात्रुहरुले ठूलो सास्ती व्यहोर्नुपरेको परेको छ ।











