इन्द्रेणी संवादाता
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले करिव २३ वर्ष पहिले आफ्नो सौताको छोराको हत्या गरी फरार भएकी महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका ७ मानपुर घर भएकी ५० वर्षकी बसन्ता शर्मा पण्डित रहेकी छन् ।

बसन्ताले २०५९ असार १९ गते घरमै सौतेनी ९ वर्षका छोरा शरद शर्माको लाठ्ठी प्रहार गरी हत्या गरेकी थिइन् । हत्यापछि शरदको शब मलखातमा खाडल खनेर गाडिएको समेत फेला परेको थियो ।

सौतेनी छोराको हत्या गरेपछि जिल्ला अदालत दाङले २०६० असोज २६ गते बसन्तालाई दुई वर्ष कैद सजाय सुनाएको थियो । तत्पपश्चात उक्त फैसलाको पुनरावेदन गर्दा उनलाई २०६० माघ ३ गते १० वर्ष कैद सजाय तोकिएको थियो । अदालतको सो फैसलापछि फरार भएकी बसन्तालाई यही साउन २० गते काठमाडौं महानगरपालिका २६ नयाँ वसपार्क नजिकैबाट प्रहरीले पक्राउ गरेको हो ।

उनी लामो समयदेखि काठमाडौंमा आफ्नो छोरासँगै बस्दै आएको खुल्न आएको छ । पक्राउपछि प्रहरीले जिल्ला अदालत दाङमा बुझाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले बताएका छन् ।