दाङ। दाङको घोराही-लमही सडकखण्ड चार दिनसम्म बन्द हुने भएको छ । उक्त सडकखण्डमा पर्ने मसोट खोलाको पुल आकस्मिक रुपमा मर्मत गर्नका लागि सडक बन्द गर्न थालिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा शनिबार बसेको सरोकारवालाहरुको बैठकले घोराही-लमही सडकखण्ड साउन २१ गते बिहान ७ बजेदेखि साउन २४ गते बिहान ७ बजेसम्म दुई पांग्रे सवारी साधन बाहेक अरु सवारी साधन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले उक्त सडकको विकल्पको रुपमा लमही–अर्जुनखोला–अमेलिया–तुलसीपुर–घोराही सडक प्रयोग गर्न अग्रह गरेको छ । जसका लागि व्यवस्थाको जिम्मा जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीलाई दिइएको छ । मसोट खोला पुल नजिकको डाइभर्सन सडक डिभिजन कार्यालयले मर्मत गर्ने र अत्यावश्यक सवारी साधन सञ्चालनको व्यवस्था मिलाउन ट्राफिक प्रहरीलाई जिम्मा दिने निर्णय गरेको छ ।