धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गरिएको छ । पार्टीका संस्थापक नेता रेशम चौधरी पक्षधरले रञ्जिता अध्यक्ष र सदस्यबाट बर्खास्त गरेको हो ।

नाउपाको बुधवार सम्पन्न राष्ट्रिय भेलाले अध्यक्ष रञ्जितालाई साधारण सदस्यसमेत नरहने गरी हटाएको हो । त्यसअघि मंगलबार निर्वाचन एवं अनुशासन आयोगले उनलाई कारबाही गर्ने निर्णय गरेको थियो । सोही निर्णयमा टेकेर भेलाले रञ्जितालाई हटाउने निर्णय गरेको संस्थापक केन्द्रीय सदस्य बलवीर चौधरीले बताए ।

रञ्जिता पोखराको लिचीबारी जग्गा अनियमितता प्रकरणमा मुछिएकी छन् । उनलाई यसअघि यसबारेमा स्पष्टिकरण सोधिएको थियो । तर उनले स्पष्टिकरण नबुझाएको भन्दै कारवाही गरिएको नाउपाले जनाएको छ ।