घोराही । घोराही उपमहानगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ को नगर स्तरीय बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख हुमाकुमारी डिसी, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, कार्यपालिका सदस्यहरु, वडा अध्यक्षहरु, महाशाखा, शाखा प्रमुखहरु, वडा सचिबहरुको सहभागिता रहेको थियो । समिक्षा कार्यक्रममा महाशाखा, शाखा र वडाहरुले बर्ष दिनमा गरेका प्रगति विबरणहरु पेश गरेका छन् ।
दुई दिन चलेको समिक्षामा नगरको कुल बजेटको ७७ दशमलब ६७ प्रतिशत बजेट खर्च भएको छ । वितेको आर्थिक बर्षमा २ अर्ब ३३ करोड ८२ लाख ३२ हजार २ सय ५० रुपैयाँ बजेट प्रस्ताब गरेकोमा १ अर्ब ८६ करोड २६ लाख २५ हजार ९७ रुपैयाँ बास्तविक बजेटमा कायम भएको थियो । बास्तविक बजेटमा १ अर्ब ८१ करोड ६२ लाख ३५ हजार ९ सय २२ रुपैयाँ खर्च भएको छ ।
लुम्बिनी प्रदेश सरकारबाट विभिन्न शिर्षकमा ३ करोड ६४ लाख ६२ हजार रुपैयाँ प्राप्त भएकोमा २ करोड ८९ लाख ९ सय ६७ रुपैयाँ अर्थात ७९ दशमलब २६ प्रतिशत खर्च भएको कार्यक्रममा जानकारी दिईएको छ । संघिय सशर्तबाट ८७ करोड ३९ लाख ४९ हजार रुपैयाँ आएकोमा ७३ करोड ९७ लाख ९६ हजार ३ सय ९४ रुपैयाँ अर्थात ८५ दशमलब ६२ प्रतिशत खर्च भएको छ । नगर स्तरीय राजस्वबाट ३८ करोड ८६ लाख ३१ हजार ७ सय ५० रुपैयाँ संकलन भएकोमा ३० करोड ८७ लाख ७५ हजार ७ सय २१ रुपैयाँअ अर्थात ७९ दशमलब ४५ प्रतिशत खर्चको भएको छ ।
कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले समग्र नगरवासी, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला निकायको सहयोगले योजनाहरु कार्यान्वयन हुन सकेकोमा धन्यवाद ज्ञापन गरेका थिए। नगरले शिक्षामा गुणस्तर सुधार, स्वास्थ्य सेवा प्रवाह, सडक सञ्जाल विस्तार, खानेपानी तथा सरसफाइ, कृषि तथा युवा उद्यमशीलता लगायतका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको बताए। जनताको विश्वासलाई केन्द्रमा राख्दै हामीले हरेक योजनामा पारदर्शिता र सहभागितालाई जोड दिएका छौं, नगर प्रमुख चौधरीले भने, “स्थानीय सरकारको मूल जिम्मेवारी भनेकै जनताको सेवा हो, त्यसलाई हामी सबै मिलेर प्रभावकारी बनाउँदै लैजानेछौं।”
सेवा प्रवाहलाई प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउन पारदर्शिता, गुणस्तरीयता र जवाफदेहितामा विशेष ध्यान दिन सुझाब दिए । पालिकाको नियमित कार्य सम्पादन तथा योजनाको प्रभावकारी कार्यान्वयनका लागि कर्मचारीहरूलाई जिम्मेवार, इमान्दार र जनउत्तरदायी भएर काम गर्न आग्रह गरे ।
कार्यक्रममा नगर उपप्रमुख हुमाकुमारी डिसीले प्रशासनिक संरचनाले जनताको हितमा काम गर्न नसके जनता र सरकारबीचको विश्वास गुम्न सक्ने भन्दै जनताले महसुस गर्न सक्ने गरी सेवा प्रवाह गर्नुपर्ने धारणा राखेकी थिइन् ।
प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले नगरवासीलाई नतिजामुखी सेवा प्रदान गर्नुपर्ने बताउँदै समग्र विकासमा योजनाको प्रभावकारिता, स्रोतको सही उपयोग र जनसहभागिताको सन्तुलन अत्यन्त महत्वपूर्ण हुने बताए ।











