घोराही । घोराही उपमहानगरपालिकाको न्यायिक समितिले आफ्नो वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलन गरी समितिले आर्थिक वर्ष २०८१/०८२ को प्रगति सार्वजनिक गरेको हो ।

सो आर्थिक वर्षमा समितिमा समितिमा आएका कूल उजुरीमध्ये ८८ प्रतिशत विवाद मिलापत्र गराउन सफल भएको समितिका संयोजक उपमेयर हुमाकुमारी डिसीले जानकारी दिएकी छन् ।

अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरी आएको २७ विवाद र गत आर्थिक वर्ष २०८१/०८२ मा दर्ता भएको १०८ विवाद मध्ये ८८ प्रतिशत अर्थात १ सय १९ विवाद फछ्र्यौट गरेको संयोजक डिसीले जानकारी दिइन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को उपदफा १ र २ अनुसार देवानी प्रकृतिका मुद्दा उपर न्यायिक इजलासमार्फत न्याय निरुपण गर्ने क्रममा दफा १ अनुसार ३२ वटा, दफा २ अनुसारका ४२ वटा, अन्य उजुरी तथा निवेदन गरी ३४ वटा र आर्थिक वर्ष २०८०/०८१ बाट जिम्मेवारी सरी आएका २७ वटा विवाद गरी १३५ विवाद थिए । जसमध्ये ११९ विवादको मिलापत्र गरिएको र १६ वटा निवेदन प्रकृयामा रहेको समिति जनाएको छ ।