रुकुम । गत मगलबार टिप्पर भेरी नदीमा खस्दा बेपत्ता भएका तीनै जनाको शव फेला परेको छ । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका –१४ पिपलचौरबाट टिप्पर नदीमा खस्दा बेपत्ता भएका रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–३ निवासी ३३ वर्षीय धनवीर बिक, दाङका ४१ वर्षीय मनिराम चौधरी र रुकुम पूर्वको सिस्ने गाउँपालिका –८ स्यालापाखाका २० वर्षीय हरि विकको शव फेला परेको हो ।
धनबिरको शव सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –२ स्थित भेरी नदी किनारमा आइतबार बेलुका भेटिएको थियो भने सोमबार मात्र मृतकका दाइले शवको पहिचान गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश बिष्टले बताए । टिप्पर चालक मनिराम र जेसिभि हेल्पर हरिको शव भने यसअघि नै सुर्खेतको भेरीगङ्गा नगरपालिका –२ खोचीस्थित भेरीनदी किनारमा फेला परेको थियो ।
साउन ६ गते साँझ आठविसकोट नगरपालिका १४ पिपलचौरस्थित भेरी कोरिडोर सडकखण्डबाट यति बिल्डर्सको रा १ क १५०१ नम्बरको टिप्पर भेरी नदिमा खसेको थियो ।










