काठमाडौं । पूर्वराष्ट्रपति विद्या देवी भण्डारीले संविधानले आफूलाई राजनीतिमा आउन कसैले पनि रोक्न नसक्ने बताएकी छन् । बबरमहलस्थित कार्की बैंक्वेटमा शुक्रबार पत्रकार सम्मेलन गर्दै भण्डारीले नेपालको संविधानले राजनीतिक दलमा आबद्ध हुन र राजनीति गर्न कतै नरोकेको बताइन् । उनले संविधानको कुनै धारा, उपधारा, महलले नरोकेको र दलमा आबद्ध हुनु आफ्नो मौलिक हक भएको बताइन् ।
“नेपालको संविधानले आस्थाको अधिकार र राजनीतिक दलमा आबद्ध हुने अधिकारलाई मौलिक हकको रूपमा प्रत्याभुत गरेको छ। संविधानका विभिन्न धारा, मर्म र भावना कहीँ कतैबाट पनि म दलमा आबद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था छैन”, भण्डारीले भनिन्, “यो घामजत्तिकै छर्लंग भएको विषय हो ।”
विभिन्न समयमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूले छलफल गर्ने गरेको पनि बताइन् । उनले आफ्नो पार्टी सदस्यता नविकरण भइसकेको बताइन् । दलको सदस्यसमेत हुनबाट रोकेर एमालेले संविधान, कानुन र पार्टीको लोकतान्त्रिक मूल्य–मान्यता, संवैधानिक अधिकार र स्वतन्त्रतालाई नियन्त्रण गर्ने गरी अपरिपक्व निर्णय भन्दै भण्डारीले भनिन्, “नेपालको संविधान, ऐन, कानुन र पार्टीको लोकतान्त्रिक मूल्य–मान्यतासमेतलाई नजरअन्दाज गरेर राजनीतिमा संलग्न हुन पाउने मेरो संवैधानिक अधिकार र स्वतन्त्रतालाई संकुचन वा नियन्त्रण हुने गरी गरिएका अपरिपक्ब निर्णयले मलाई दुःखी तुल्याएको छ।”
पार्टीमा आवद्ध भएको ४५ वर्ष भएको भन्दै अब पनि पार्टी राजनीतिमा आउन आफूलाई कसैले रोक्न नसक्ने बताइन् । तर नेकपा एमालेको गत ५ र ६ गते बसेको बैठकले भण्डारी राजनीतिमा सक्रिय हुन नसक्ने निष्कर्षसहित सदस्यता नवीकरण नहुने निर्णय गरिसकेको छ ।











