बनेपा। एक युवाले आफूसँग विवाह गर्न नमानेपछि आफ्नी प्रेमिकाको हत्या गरेका छन् । रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. १३ का ३७ वर्षीया सन्तोष सुनारले आफूसँग विवाह गर्न नमानेपछि रिसको झोकमा प्रेमिका शर्मिला उप्रेतीको हत्या गरेका हुन् ।

सोमबार जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रेमीकाको हत्या गर्ने सुनारलाई सार्वजनिक गरेको छ । फरार रहेका सन्तोषलाई इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले आइतबार साँझ बनेपा नगरपालिका १०, इँटाभट्टाबाट पक्राउ गरेको थियो ।

प्रेमिका हत्यामा संलग्न सुनारले काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका १, डाँडाखर्क घर भई हाल बनेपा नगरपालिका ९, नयाँबस्ती बस्ने ३३ वर्षकी शर्मिलालाई विवाह गर्न प्रस्ताव गरेको र उनले नमानेपछि रिसको झोकमा योजनाबद्ध रूपमा हत्या गरेको प्रहरीले बताएको छ ।

“दुई वर्षदेखि सन्तोष र शर्मिलाको प्रेम सम्बन्ध रहेको देखिन्छ, सन्तोषले पटकपटक विवाह गर्न प्रस्ताव गरेको र शर्मिलाले टार्दै लगेपछि सन्तोषलाई शङ्का लागेपछि हत्या गरेको स्वीकार गरेका छन्”, प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले भने ।

असार ३२ गते घरबाट काम गर्नका लागि निस्केकी शर्मिलालाई घुम्न जाने भन्दै बनेपा नगरपालिका १३, भगवान् थुम्की सामुदायिक वनमा लगि दाउराले हानेर बेहोस पारी सलले घाँटीमा कसेर हत्या गरिएको प्रहरीले जनाएको छ । शर्मिलाको हत्या गरेका सुनारले घटनास्थलमा आधा घण्टा बसेर शर्मिलाको शवलाई चिलाउनेको फेदमा कोल्टो पारी भागेका थिए ।