बाँके । बाँकेको कोहलपुर नक्कली नोट र लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा आफूलाई पत्रकार बताउने कपिलवस्तु शिवराज नगरपालिका ९ घर भई हाल कोहलपुर बस्दै आएका जनगर्जन नेटवर्क प्रालिका सञ्चालक मनबहादुर सहकारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक दिपक पातलीले एक हजारका ५१ वटा नक्कली नोट र करिब १९ किलो अफिमसहित कोहलपुरबाट सहकारीलाई पक्राउ गरिएको बताए । उनीसँगै रुकुम पश्चिम बाँफिकोट १० की सपना पुन पनि पक्राउ परेकी छन् । सपना सोही कार्यालयमा काम गर्ने गरेको बताइएको छ ।

बरामद गरेको रकम र नक्कली नोट सहित सहकारीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाइएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी लक्ष्मी खनालले बताएकी छन् ।

सुर्खेतमा केही दिन अघि प्रहरीले लागुऔषध र नक्कली नोट बरामद गरेको थियो। सोही घटनामा पक्राउ परेका व्यक्तिको सूचनाका आधारमा थप अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेत र ईलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त टोलीले कोहलपुरबाट सहकारीलाई पक्राउ गरेको हो। प्रहरीले अफिम र नेपाली नक्कली नोटसँगै नोट छाप्ने मेसिन, एउटा मोटरसाइकल र एक थान मोबाइल पनि बरामद गरेको छ ।