दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले पत्रकारितामा लैङ्गिक संवेदनशीलता अनिवार्य रहेको बताएका छन् ।
पत्रकार महिला मञ्च दाङले शुक्रबार घोराहीमा आयोजना गरेको सञ्चार क्षेत्रमा पत्रकार महिलाको सुरक्षित वातावरण निर्माण सम्बन्धी प्रारम्भिक परामर्श कार्यक्रममा बोल्दै सचिव प्रियासनले सञ्चारकर्मी महिला र पुरुषबीचको समानतामूलक व्यवहार मात्र सशक्त पत्रकारिताको माध्यम बन्ने बताए ।
“पत्रकार महिलाहरूको आवाज बुलन्द हुन नसक्नु, भयरहित वातावरण नहुनु र उनीहरूलाई सशक्त रिपोर्टिङ गर्नबाट रोक्नु– यी सबै समस्या लैङ्गिक असमानताको उपज हुन्,” उनले भने, “अब यस्ता संरचनात्मक असमानता तोडेर अघि बढ्नुपर्छ ।” महिलाहरूको पेशागत, भौतिक, मानसिक, सामाजिक र समग्र सुरक्षाको सवाललाई सञ्चारमाध्यमहरूले विशेष प्राथमिकता दिनुपर्नेमा उनको जोड थियो ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डव शर्माले पत्रकार महिलाहरूका सवालहरू कुनै महिलामात्रको एजेन्डा नभई पत्रकार महासंघको साझा विषय भएको बताएका थिए । उनले विगतका दिनहरूमा कार्यालयमा लैङ्गिक आधारमा विभेद, दुव्र्यवहार, असुरक्षा र हेपाहा प्रवृत्ति रहेको प्रसङ्ग उल्लेख गर्दै अहिलेको डिजिटल युगमा सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरूबाट पत्रकार महिलाहरूलाई होच्याउने, बदनाम गर्ने र आक्रमण गर्ने प्रवृत्ति झन बढेको बताए ।
“डिजिटल माध्यमबाट महिला पत्रकारमाथि हुने साइबर हिंसा झन गम्भीर बन्दै गएको छ । यस्तो अवस्थामा लैङ्गिकसम्वेदनशीलता र समावेशी पत्रकारिता नितान्त आवश्यक भएको छ”, उनले भने । महासंघ लुम्बिनी प्रदेश समितिले समावेशी पत्रकारिता, लैङ्गिक सन्तुलन र समान अवसरका विषयमा रणनीतिक योजना तयार पारेको उनले जानकारी दिए ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले पत्रकार महिलाहरूको पेशागत यात्रा निरन्तरता दिन चुनौतीपूर्ण बन्दै गएकोमा चिन्ता व्यक्त गरे । कार्यस्थलमै हुने लैङ्गिक विभेद, पारिवारिक जिम्मेवारीको दोब्बर बोझ, सामाजिक धारणाको प्रभाव, संस्थागत असहयोगजस्ता कारणले महिलाहरू पत्रकारितामा लामो समय टिक्न नसकेको सुवेदीको भनाइ थियो ।
पत्रकार महिला मञ्च दाङकी अध्यक्ष लक्ष्मी आचार्यले पत्रकार महिलाहरूका विविध चुनौतीहरूबारे चर्चा गर्दै समाधानका उपायहरू खोज्न सामूहिक प्रतिबद्धता आवश्यक भएको बताइन् ।
कार्यक्रममा मञ्चकी उपाध्यक्ष सुशीला आचार्य, पत्रकार महासंघ दाङका पूर्व उपाध्यक्ष वसुन्धरा गौतम, महिला मानव अधिकार रक्षक सञ्जाल दाङकी अध्यक्ष अनिता पोखरेल र मञ्चकी सल्लाहकार शारदा शर्माले आफ्ना विचार राखेका थिए ।











