रोल्पा । गएको सोमबारदेखि सम्पर्कविहिन भएका रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरसहित कर्मचारी सम्पर्कमा आएका छन् ।
सबै कर्मचारीहरु सकुशल रहेको जानकारीमा आएको रोल्पाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताएका छन् । “सम्पर्कविहीन भनिएका सबै कर्मचारीहरू सम्पर्कमा आएका छन्”, दाहालले भने “उहाँहरूले आफूहरू सकुशल रहेको जनाउनु भएको छ ।”
गाउँपालिका अध्यक्ष ऋषिकेश बुढामगरले पनि कर्मचारी सम्पर्कमा आएको बताएका छन् । उनीहरुले आजै कार्यालय फर्किने बताएको अध्यक्ष बुढाले बताए । तर कर्मचारीहरु किन सम्पर्कविहिन भए भन्ने बारे भने अझै खुलेको छैन ।
गाउँपालिकाले बुधवार एक विज्ञप्ति जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर, सहायक प्रशासन पाँचौं हरिश माझी, सह–लेखापाल यज्ञप्रसाद कडेल, सव–इन्जिनियर निशा आचार्य र चन्द्र प्रकाश ओलीका साथै अरु कर्मचारी शिव कुमार वली र प्रदीप केसी सम्पर्कविहीन भएको जनाएको थियो ।











