जुम्ला । जुम्लाको गुठीचौरमा चट्याङबाट १९७ भेडा मरेका छन्। गुठीचौर गाउँपालिका–५ स्थित धौलीगाडको ठूलो हाँका पाटनमा सोमवार दिउँसो ४ः३० बजे चट्याङ पर्दा १९७ भेडा मरेका हुन् ।
“पाटनमा छ जना किसानका भेडा मरेका रहेका छन्। कुन किसानका भेडा कति मरे छन् भन्ने तथ्याङ्क सङ्कलन भइरहेको छ”, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रवीनबाबु रेग्मीले भने, “पाटनमा चरिरहेका भेडाको बथानमा चट्याङ परेको भन्ने खबर प्राप्त भएको छ।”
चट्याङले घाइते भएका सिंजा गाउँपालिका भाडगाउँका ५२ वर्षका धनबहादुर रावतको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घाइते रावतको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।











