काठमाडौं । रसुवास्थित भोटेकोशीमा ठुलो वर्षाका कारण बाढी आएको नभई हिमपहिरो वा हिमताल विस्फोटले घटना निम्त्याएको विशेषज्ञहरूले आकलन गरेका छन् । तर नेपाल–चीनबिच मौसमसम्बन्धी सूचना औपचारिक रूपमा आदान–प्रदान नहुने भएकाले यसको यकिन कारण भने हुन सकेको छैन ।
रसुवागढीबाट ८० कोषमाथि छुसुमधा पहिरो खस्दा बाढी आएको चिनियाँ पक्षबाट प्रारम्भीक जानकारी भने आएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जनाएका छन् ।
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका प्रमुख, वरिष्ठ जलस्रोतविद् विनोद पराजुलीले वर्षाका कारण बाढी उत्पन्न भएको नदेखिएको, तर भोटेकोशी नदी जलाधारको तिब्बती क्षेत्रमा रहेका हिमतालमध्ये कुनै फुटेको वा हिमपहिरो खसेको आकलन रहेको बताए । पाल्पामा रहेको मौसमी राडार र विश्व मौसम संगठनको भूउपग्रहमा आधारित प्रणालीमार्फत हेर्दा भोटेकोशी जलाधार क्षेत्रमा पछिल्लो २४ घण्टामा पानी परेको देखिँदैन ।
भोटेकोशीमा मंगलबार बिहान आएको बाढीले रसुवागढी तहसनहस बनाएको छ भने बाढीमा बेपत्ता भएकाहरू मध्ये नौ जनाको शव फेला परेको छ । अझै १९ जना सम्पर्कविहीन छन् । बेपत्ताहरूको खोज तथा उद्धार कार्य जारी छ ।











