डोटी । डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। आज दिउँसो १:४० बजेको समयमा आदर्श गाउँपालिका–१ खिराधारा धौलामाटीस्थित दिपायल सायल सडकखण्डमा सुप्रप ०१००१ ज १३९५ नम्बरको जिप दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी सायल गाउँपालिका–४ सुण्डकी ४१ वर्षीया देवी विक, जिपचालक आदर्श गाउँपालिका–७ दडिमानाका २७ वर्षीय सुरेश कार्की र सायल गाउँपालिका–६ कटुवाल गाउँकी ३५ वर्षीया काली कटुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। दुई जनाको घटनास्थलमा र एक जनाको जिल्ला अस्पताल डोटीमा उपचारका क्रममा ४ः१२ बजेको समयमा मृत्यु भएको हो।
दुर्घटनामा परी आदर्श गाउँपालिका–३ नुवाकोटकी १४ वर्षीया अनिता विक, १६ वर्षीया स्यानु विक, सोही पालिकाको वडा नम्बर ७ दडिमानाका २२ वर्षीय कैलाश विष्ट, १४ वर्षीय दीपक विष्ट र मृतक काली कटुवालकी १० वर्षीया छोरी साविता कटुवाल घाइते भएका छन् ।
घाइते चार जनाको अवस्था गम्भीर छ भने एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। जिप सडकबाट करिब २५० मिटर तल खसेको छ।










