दैलेख । दैलेखको जलजलेमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासभण्डार रहेको पुष्टि भएको छ । अनुसन्धानको नेतृत्व गरेको चिनियाँ जिओलोजिकल सर्भे कम्पनीले मिथेन ग्यास रहेको पुष्टिसहितको प्रतिवेदन नेपाल सरकारलाई बुझाएको हो ।
अहिलेको नतिजा जलजलेको एउटा कुवाको मात्रै भएकाले जिल्लाका अन्य तीन स्थानमा पनि तीन अर्ब १८ करोड घनमिटर मिथेनको भण्डार रहेको कम्पनीको अनुमान छ । चारै ठाउँको अनुमानित कुल चार अर्ब ३० करोड घटमिटर उत्खनन गर्न सके नेपाललाई ५० वर्षका लागि ग्यास पुग्ने चिनियाँ विज्ञहरूको निष्कर्ष छ । आयल निगमका अनुसार नेपालमा वार्षिक करिब ६० अर्बको साढे पाँच लाख टन एलपी ग्यास आयात भइरहेको छ ।
प्रारम्भिक प्रतिवेदनमा मिथेन ग्यास देखिएको छ । सबै प्रक्रिया टुंग्याएर परीक्षण उत्पादन थाल्ने र त्यसबाट ग्यासको प्रकृति तथा व्यावसायिक उत्पादनबारे निर्णय लिइनेछ । चिनियाँ कम्पनीले विस्तृत रिपोर्ट दिएको एक महिनाभित्रै परीक्षण उत्पादन थाल्ने योजना छ ।
चिनियाँ कम्पनीले जलजलेमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि चार हजार १३ मिटरको गहिराइमा खनेर संकलित नमुनाको परीक्षण गरेको थियो नयाँ पत्रिकामा खबर छ । २८ वैशाख ०८१ देखि थालिएको ड्रिलिङ नौ महिनापछि गत पुसमा सकिएको थियो ।











