गोरखा । गोरखाको सिरानचोक गाउँपालिका वडा नं. ७ आरुबोटमा अहिले २ हजार १०० बोट ओखर हुर्कदै छन । समुन्द्री सतहबाट १ हजार ८०० मिटर उचाइमा रहेको २०० रोपनी जमिनमा स्थानीय आनन्द गुरुङ र सुरेन्द्र गुरुङले व्यावसायिक ओखर खेती गरेका छन् ।

‘प्राविधिक टोली ल्याएर अध्ययन गर्दा यहाँ ओखर खेती राम्रो हुने देखियो,’ कृषक सुरेन्द्र गुरुङले भने,‘तर हामीसँग पर्याप्त जग्गा थिएन, हाम्रो केही पुख्र्यौली जमिन थियो, केही साटाफेर गरियो र केही जमिन किनेका छौं ।’

२०७५ सालमा आरुबारी कृषि फार्म दर्ता गरेर ओखर खेती सुरु गरेको गुरुङले बताए । बैंकबाट ऋण लिएर सुरु गरिएको फर्ममा अलिसम्म ८ करोड भन्दा बढि लगानी भइसकेको छ । ‘हामीले टर्र्कीबाट बिरुवा मगाएर लगाएका हौं,’ उनले भने,‘सम्भवत नेपालमा यो नै अहिले सम्मको ठूलो ओखर खेती हुनु पर्छ जस्तो हामीलाई लाग्छ ।’

ओखर खेती लगाएको ६ वर्ष पछि मात्र उत्पादन दिन सुरु हुन्छ । ‘तलब र ज्यालादारी गरी आठ जना कामदारहरु एक प्राविधिक पनि रहेका छन् ।

एउटा बिरुवाका लागि ३५ हजार लगानी भइसकेको र सबै बिरुवाले फल दिन अझै ३/४ वर्ष लाग्ने गुरुङले बताए ।
उनीहरुले फार्मका उत्तरी क्षेत्रमा ४०० बोट टिमुर पनि लगाएका छन् । स्थानीय र वणशंकर जातका टिमुर लगाइएको गुरुङको भनाइ छ । उत्पादन दिन थालेपछि बगैँचा राम्रो देखिने र आम्दानीको सुरुवात हुने उनले बताए ।