काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा ७ असारमा सार्वजनिक गर्ने घोषणा गरेको थियो । तर यो समयमा नतिजा ल्याउन असम्भव भएको छ । बोर्डले तोकिएको मितिभन्दा अझै एक सातापछाडि (१५ असारसम्म) नतिजा प्रकाशन गर्न सकिने बताएको छ ।
वैशाख महिनामा झन्डै एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण ढिलो सुरु भएकाले नतिजा समयमा आउन नसक्ने स्थिति बनेको बोर्ड अध्यक्ष महाश्रम शर्माले बताए ।
‘घोषित मितिमा नतिजा आउन सक्दैन,’ अध्यक्ष शर्माले भने, ‘किनभने शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण ढिलो सुरु भयो, जसको असर नतिजा प्रकाशनमा परेको छ ।’ गत ७ चैत्रदेखि सुरु भएको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी भएका थिए ।











