दाङ । बढ्दो गर्मीसँगै डेङ्गु सङ्क्रमण बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो वर्ष मङ्गलबारसम्म एक हजार २८१ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । लुम्बिनी प्रदेशमा मात्रै २०७ जनामा डेङ्गु पुष्टि भएको छ ।
प्रदेश अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा डेङ्गु पुष्टि भएको छ । बागमतीमा ३४३, कोशीमा २४६, गण्डकी २३४, सुदूरपश्चिम १७४ र कर्णाली प्रदेशमा ६२ जनामा डेङ्गु पुष्टि भएको छ । सबैभन्दा कम सङ्क्रमण मधेश प्रदेशमा छ । मधेशमा १७ जनामा डेङ्गु पुष्टि भएको छ । मधेशमा गर्मी हुने भएकाले सबैभन्दा बढी डेङ्गु सङ्क्रमण मधेशमा हुनुपर्नेमा सबैभन्दा कम सङ्ख्या पुष्टि भएको छ ।
जिल्लागत रूपमा सबैभन्दा बढी काठमाडौँमा १३६ जनालाई पुष्टि भएको छ । यस्तै, कास्की ९२, सुनसरी ८७, झापा ७६, पाल्पा ७६, रुपन्देही ४९, कञ्चनपुर ३७, दाङ ३२ र भक्तपुरमा ३० जनामा डेङ्गु पुष्टि भएको छ । महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले यो वर्ष डेङ्गुको सङ्क्रमण ७२ जिल्लामा फैलिसकेको छ । मनाङ, रसुवा, डोल्पा, हुम्ला र महोत्तरी जिल्लामा डेङ्गु पुष्टि भएको छैन ।
डेङ्गुका लक्षण
डेङ्गु लागिसकेपछि मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउनु हो । यो ज्वरो एकसातासम्म रहन्छ । यसबाहेक टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड–जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने गर्छ । डेङ्गुका कारण वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने, शरीरमा रगत जम्नेलगायतका लक्षण देखा पर्छन् ।
डेङ्गुबाट बच्ने उपाय
डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु पर्छ । लामखुट्टेको लार्भा नष्ट गर्नु पर्छ । पानी जम्न सक्ने भाँडा गमला, फूलदान, खाली बट्टा, अलकत्रा वा मटितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न दिनुहुँदैन । पानी छोपेर राख्ने, लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । सुत्दा झुल प्रयोग गर्नु पर्छ । साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ ।











