काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पौडेल तत्कालीन प्रमुख व्यावसायिक अधिकृत (हाल प्रबन्ध निर्देशक) सङ्गीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा ३३ करोड बढी बिगो दाबी गर्दै उच्च अदालतमा मुद्दा दायर भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहाडी, पौडेलसहित १८ विरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनीहरुले नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत गर्न ठेक्का प्रणाली लम्ब्याएर भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ।
प्रतिवादीविरुद्ध ३३ करोड ४८ लाख रुपियाँ बिगो मागदाबी गरेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेल बताएका छन् । बिलिङ प्रकरणमा ९ करोड ८८ लाख रुपियाँ नोक्शानी गरेको देखिएकाले रकम असुल उपर गर्नसमेत अख्तियारले माग दाबी गरेको छ। विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालले विशेष अदालतमा १८ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको जानकारी दिए।











