इन्द्रेणी संवाददाता
दाङ । दाङमा प्रहरीले लागुऔषध ब्राउन सुगर खरिद विक्री गरिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गढवा कोइलावास सडकखण्डमा मोटरसाइकलमा गढवातर्फ आउदै गरेको अवस्थामा गढवा ६ का २२ वर्षका लक्ष्मण विष्टलाई प्रहरीले पक्राउ गरेका हो ।
उनका साथबाट ६ ग्राम ४६० मिलिग्राम ब्राउन सुगर समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । विष्ट जेठ २३ गते लु ९६ प ८८९३ नम्बरको मोटसाइकलमा चढेर गढवा आउदै गरेका थिए । सो क्रममा उनीमाथि खानतलासी लिदा ब्राउन सुगर फेला परेको थियो ।
विष्टसँग ब्राउन सुगर खरिद गर्न आएका गढवा ६ अजगढवा बिस्ने ३९ वर्षका भन्साराम यादव र ३७ वर्षका सदान मनिहारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको सूचना अधिकारी डिएसपी चक्रबहादुर शाहीले बताएका छन् ।
