व्यवस्थापिका संसदमा नयाँ प्रधानमन्त्री चयनका लागि पर्सी मतदान हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय सरकार गठनका लागि आहृवान गरेपछि आज बसेको संसद् बैठकमा सभामुख ओनसरी घर्ती मगरले प्रधानमन्त्री चुनावका लागि पर्सि विहान ११ बजे मततादन हुने जानकारी दिनुभएको हो ।
मनोनयन दर्ता लगायत तालिका बनाउन सभामुखले संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिनु भएको छ । प्रधानमन्त्रीका लागि भोलि उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । ल्होत्से हलमा विहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने, साढे ४ बजे उम्मेदवारको सूची सार्वजनिक गर्ने कार्यतालिका छ ।
आजको बसेको संसद बैठकले धनकुटामा भएको बस दुर्घटनामा मृत्यु भएका पूर्वसांसद हरिराज खेवाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । आजको संसद् बैठकमा उपप्रधान तथा रक्षामन्त्री भीम रावलले मुलुकभरमा बाढी,पहिरोका कारण भएको क्षति र उद्धारका लागि गरिएका पहलको बारेमा जानकारी गराउनु भएको थियो ।