देउखुरी । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतन्त्र, सुशासन र पारदर्शी शासन व्यवस्थाका लागि सञ्चार क्षेत्र अपरिहार्य भएको बताएका छन् । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष शुक्रऋषि चौलागाईं नेतृत्वको पत्रकारसँगको सोमबार भएको भेटघाटका क्रममा मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन् ।
“नागरिकलाई सशक्त बनाउने, शासन प्रणालीलाई जवाफदेही बनाउने र राज्यको गतिविधिलाई जनतासामु पारदर्शी बनाउने काम मिडियाबाट सम्भव हुन्छ,” उनले भने, “यसकारण आगामी बजेटमा मिडिया क्षेत्रको सुदृढीकरण, पत्रकार सुरक्षाको प्रत्याभूति र सञ्चार माध्यमको प्रवर्द्धनसम्बन्धी नीतिगत तथा कार्यक्रमगत व्यवस्था गरिनेछ ।”
देउखुरीस्थित मुख्यमन्त्री कार्यालयमा भएको भेटघाटमा लुम्बिनी प्रदेशको पत्रकारिता क्षेत्रका समसामयिक मुद्दा, सञ्चार माध्यमले भोगिरहेका चुनौती र आगामी आर्थिक वर्षको बजेटमा पत्रकार र पत्रकारिताको समग्र बिकासका सन्दर्भमा समावेश गर्न कार्यक्रम र योजना बारे विस्तृत छलफल गरिएको थियो ।
सो क्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष शुक्रऋषि चौलागाईंले पत्रकारहरूले प्रदेशका दुर्गम क्षेत्रसम्म पुगेर सूचना प्रवाह गरिरहेको र सरकार तथा आम जनतालाई जोडने काम गरिरहेकाले उनीहरूको आर्थिक, सामाजिक सुरक्षामा सरकारले विशेष प्याकेज ल्याउन आवस्यक भएको बताएका थिए । “प्रदेश सरकारले पत्रकारको सीप अभिवृद्धि, सुरक्षाको प्रत्याभूति र स्थानीय सञ्चार संस्थाको दिगोपनाका लागि विशेष कार्यक्रम ल्याउनु आवश्यक छ”, अध्यक्ष चौलागाईंले भने ।
महासचिव पाण्डव शर्माले सूचनाको पहुँच, पत्रकारिता अभ्यासको गुणस्तर र मिडिया हाउसहरूको सुदृढीकरणका लागि प्रदेश सरकारले दीर्घकालीन दृष्टिकोण बनाउनुपर्नेमा जोड दिएका थिए । भेटघाटमा अध्यक्ष चौलागाुईं, महासचिव पाण्डव शर्मा, मुख्यमन्त्रीका प्रेस संयोजक दशरथ घिमिरेलगायतको सहभागिता थियो ।










