काठमाडौं । चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनाका आरोपीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले आज ६२ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको हो ।
राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, दुर्गा प्रसाईंसहितका ६२ जनालाई प्रतिवादी बनाइ मुद्दा दर्ताको छ । बाँकी तीन नाबालक प्रतिवादीविरुद्ध भोलि मुद्दा दायर हुने सरकारी वकिलको कार्यालयले जनाएको छ ।
६२ मध्ये ३० जनालाई आपराधिक उपद्रव र सङ्गठित अपराधको कसूरको मुद्दा छ । आन्दोलनका जनकमान्डर भनिएका दुर्गा प्रसाईंसहित ८ जनालाई कर्तव्य ज्यानको कसूरमा मुद्दा दायर गरिएको बताइएको छ । राजतन्त्रको पुर्नस्थापना गर्दै भएको आन्दोलनले हिंसात्मक रुप लिदा एक जना पत्रकारसहित दुई जनाको ज्यान गएको थियो ।











