इन्द्रेणी संवाददाता
सल्यान । सल्यानको कालिमाटी गाउँपालिका वडा नं. १ लक्ष्मीपुर कोटवयालेमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा विनाजानकारी दरबन्दी कटौती गरेको भन्दै त्यसको विरुद्धमा विद्यार्थीका अभिभावक एवं स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । विद्यालय व्यवस्थापन समिति र विद्यालयलाई समेत कुनैपनि परिपत्र नगरी विद्यालयमा कक्षा ४ र ५ को दरबन्दी कटौती गरेर आफूहरुमाथि स्थानीय सरकारले अन्याय गरेको अभिभावकहरुको गुनासो छ ।
कक्षा ४ र ५ मा विद्यार्थी हुँदा हुँदै दमनपूर्ण तरिकाले दरबन्दी कटौती गरिएकाले यसको सही र न्यायिक निकास नआउँदासम्म आफूहरुको आन्दोलन जारी रहने अभिभावक गमबहादुर रावतले बताए । “हामी माथि अन्याय भएको छ, विना जानकारी विद्यालयमा दरबन्दी कटौती गरेर कक्षा घटुवा गरिएको छ”, उनले भने, “यो अन्यायपूर्ण दमनको विरुद्ध हामी अहिले वडा कार्यालयमा तालाबन्दी गरेका छौं, हामीमाथि भएको अन्यायका विरुद्ध हामी सम्बन्धित निकायहरुसम्म जान्छौं ।”
आज सोमवार स्थानीय तथा विद्यार्थीहरुको अभिभानकहरुले विभिन्न नाराबाजी गर्दै पोखरामा रहेको कालिमाटी गाउँपालिकाको वडा नं. १ को वडा कार्यालयको मुल गेटमा ताला लगाएका हुन् । यसको न्यायिक निकास ननिस्कदासम्म ताला नखोल्ने आन्दोलनरत अभिभावकहरुले बताएका छन् । विद्यार्थीको संख्या नभएको भन्दै त्यस विद्यालयको कक्षा ४ र ५ को दरबन्दी कटौती गरेर केही शिक्षकहरुको सरुवा समेत गरिएको छ ।











