काठमाडौं । सहकारी ठगी र संगठित अपराधको आरोपमा पक्राउ परेकी कांग्रेसकी सांसद माया राई सत्ताको दबाबमा फितलो अनुसन्धानपछि १९ दिनमै हिरासतमुक्त भएकी छिन् । यतिसम्म कि सत्ताको छत्रछायामा रहेकी राईमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धानसमेत नगरी सामान्य बयानमै अनुसन्धान टुंग्याइएको छ ।

जबकि यही मुद्दामा संलग्नता पुष्टि नभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग अदालतले ६० लाख धरौटी मागेको थियो । रविले केवल जिबी राईले लगानी गरेको गोर्खा मिडियाको प्रबन्ध निर्देशकका हैसियतमा चेकमा हस्ताक्षर गरेका थिए, तर उनलाई मुख्य प्रतिवादी बनाइएको थियो ।

राईलाई जिल्ला अदालत काठमाडौंले बुधबार १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । त्यसपछि उनी धरौटी बुझाएर थुनामुक्त भएकी हुन् । थुनछेक आदेशअनुसार धरौटी बुझाएर उनी थुनामुक्त भएको जिल्ला अदालत, काठमाडौंका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए नयाँ पत्रिकामा खबर छ।

मंगलबार मुद्दा दायर भएको थियो भने बुधबार जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासमा बयान र थुनछेक बहस एकैदिनमा सकेर आदेश दिइएको थियो । रवि लामिछानेप्रति कठोर प्रहरीको कांग्रेस सांसद माया राईप्रति कृपादृष्टि देखिएको छ ।